काठमाडौँ । एमाले र कांग्रेसबीच कोशी प्रदेशमा बनेको सरकार सञ्चालनका लागि सुझाव दिन बनेको दुई दलीय संयन्त्रले कोशी प्रदेशमा पहिचान पक्षधरसँग वार्ता गर्न सरकारलाई सुझाव दिएको छ ।
आज बसेको दुई दलीय संयन्त्रको बैठकले तत्काल आन्दोलनरत पक्षसँग वार्ता गर्न समिति बनाउन सुझाव दिएको हो । कोशी नामकरणपछि यहाँ पहिचान पक्षधरहरू असन्तुष्ट छन् ।
यस्तै ताप्लेजुङमा रहेको प्रसिद्ध धार्मिक स्थल पाथीभरामा केवल कार निर्माण सुरु भएपछि यसको विरोधमा पनि आन्दोलन सुरु भएको छ । दुवै आन्दोलनको नेतृत्व पहिचान पक्षधरहरूले गर्दै आएकाले वार्ताका लागि समिति बनाउन सुझाव दिएको नेकपा एमाले स्थायी कमिटी सदस्य तथा एमाले कोशी प्रदेशका इन्चार्ज शेरधन राईले बताए ।
दुई दलीय संयन्त्रको बैठकपछि पत्रकारसँग बोल्दै राईले वार्ता र संवादबाट मात्रै समस्याको समाधान हुने भएकाले आन्दोलनरत पक्षसँग छिटो भन्दा छिटो वार्ता गर्नुपर्ने बताए । प्रदेशको नामकरण पछि उत्पन्न भएको विवाद पछि प्रदेश नम्बर १ पुनः नामकरण संयुक्त संघर्ष समितिले आन्दोलन गर्दै आएको छ ।
यसअघि बनेका प्रदेश सरकारसँग भएको वार्तापछि केही मत्थर भएको पहिचानको आन्दोलन पुन सुरु भएकाले वार्ता समिति बनाउन सुझाव दिएको नेपाली काँग्रेस कोशी प्रदेश तथा संयन्त्रका सदस्य उद्धव थापाले बताए ।
उनले सरकारले दुई दलीय संयन्त्रलाई वार्तामा मध्यस्थता गर्ने बताए । उनले वार्ता र संवादको आवश्यकता भएकाले तत्काल वार्ता समिति बनाउन सुझाव दिएको बताए ।
उनले कोशी प्रदेश सरकारले सम्पन्न गर्न लागेको विभिन्न कामलाई पुरा गर्न पनि दुई दलीय संयन्त्रले सहयोग गर्ने बताए । प्रदेश सरकारले पर्यटन वर्ष २०८२ शुरु गर्दै छ । सो कार्यक्रम प्रदेशको विकास र समृद्धिको कोशे ढुंगा साबित हुने भएकाले सरकारले गर्न लागेको कार्यक्रम सम्पन्न गर्न सहयोग गर्ने निर्णय गरेको बताए ।