काठमाडौँ । कीर्तिपुर नगरपालिकाको मेयरका माओवादी उम्मेदवारलाई समर्थन गर्दै एकीकृत समाजवादीका उम्मेदवार पछाडि हटेका छन् ।
यसअघि पार्टी अध्यक्ष माधवकुमार नेपालले विज्ञप्ति जारी गर्दै माओवादी उम्मेदवार प्रा. डा. शिवशरण महर्जनलाई समर्थन गर्दै आफ्ना उम्मेदवार भानु रिजालको उम्मेदवारी निष्क्रिय भएको घोषणा गरेका थिए, तर रिजालसहित पार्टी पंक्तिले अध्यक्षको निर्देशन मानेन, घरदैलो कार्यक्रम जारी राखेको थियो ।
मंगलबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष नेपालसहितको वार्तापछि एसका उम्मेदवार रिजालले माओवादी उम्मेदवार महर्जनको पक्षमा विज्ञप्ति जारी गरेका हुन् ।
एसका स्थानीय नेताले मेयरको उम्मेदवारी निष्क्रिय गर्दा वडा नम्बर ४ को वडाध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार नारायण विष्ट पनि निष्क्रिय हुनुपर्ने माग गर्दै पार्टी अध्यक्षको घोषणा स्वीकार गरेको थिएन । त्यहाँ एसले रीता खड्कालाई वडाध्यक्ष उम्मेदवार बनाएको छ ।
मंगलबार सिंहदरवारस्थित माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा दुई पार्टीका नेताबीच छलफल हुँदा ‘प्रचण्ड’ले आफूले निर्देशन दिँदा पनि वडाध्यक्षको उम्मेदवार विष्टले निष्क्रिय हुन नचाहेको बताए ।
मंगलबारको वार्तामा माओवादीका तर्फबाट ‘प्रचण्ड’सहित अग्नि सापकोटा, नारायणकाजी श्रेष्ठ, हितमान शाक्य सहभागी थिए । एकीकृत समाजवादीका अध्यक्ष नेपालसहित वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे, प्रदेश सभा सदस्य रमा आले लगायत सहभागी थिए ।
