काठमाडौँ । टोखा नगरपालिका-९ नयाँ बसपार्कस्थित विष्णुमती करिडोरमा अवैध रूपमा सञ्चालन भएका ८२ टहरा हटाइएको छ।
नगरपालिकाले आज नयाँ बसपार्क पुलदेखि सामुदायिक सेवा केन्द्रसम्म विष्णुमती खोला करिडोरमा निर्माण गरिएका ८२ अस्थायी संरचना हटाएको हो। नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर बिसीका अनुसार विष्णुमती नदी कोरिडोरलाई सुन्दर र व्यवस्थित बनाउने उद्देश्यले ती संरचना डोजर लगाएर हटाइएका हुन्।

“सार्वजनिक जग्गा मिचेर बनाइएका संरचना हटाउने अभियानअन्तर्गत यी संरचना हटाइएको हो,” बिसीले भने। सार्वजनिक जग्गा संरक्षणका लागि वडा नं ४ का वडाध्यक्ष धर्मेन्द्र श्रेष्ठको संयोजकत्वमा गठन गरिएको ‘सार्वजनिक जग्गा संरक्षण समिति’ ले यो अभियानलाई अगाडि बढाएको छ।
टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले विष्णुमती कोरिडोरलाई स्थानीयवासीको आवतजावत सहज बनाउन र सार्वजनिक सम्पत्तिको संरक्षण गर्न यो कदम चालिएको उल्लेख गरे। उनले नगरपालिकाभित्र करिब १,००० रोपनी सार्वजनिक जग्गा अतिक्रमण भएको जानकारी दिँदै त्यसलाई क्रमशः पुनः संरक्षण गर्ने योजना रहेको बताए।

उपप्रमुख मुरारी तामाङले सार्वजनिक सम्पत्ति संरक्षण अभियानलाई नगरपालिकाले प्राथमिकताका साथ अगाडि बढाएको बताउँदै, यो प्रयासले नगर क्षेत्रलाई थप व्यवस्थित बनाउने विश्वास व्यक्त गरे।
नगरपालिकाले केही दिनअघि सूचना जारी गर्दै सार्वजनिक जग्गामा रहेका अवैध संरचना हटाउन आग्रह गरेको थियो। यसअघि, मनोरथ तीर्थदेखि टोखा प्रहरी चौकीसम्मका संरचना पनि पहिलो चरणमा हटाइसकिएको थियो।