काठमाडौँ । सुदूरपश्चिम प्रदेशका पूर्व मुख्यमन्त्री तथा नेकपा (एमाले) का पोलिटब्युरो सदस्य राजेन्द्र सिंह रावलले पपुलिष्ट र अवसरवादी शक्तिहरूसँग संवादसहितको प्रतिवाद गर्न कार्यकर्ताहरूलाई आह्वान गरेका छन् ।
नेकपा एमाले शुक्लाफाँटाको दोस्रो नगर अधिवेशनको बिहीबार उद्घाटन गर्दै नेता रावलले भने, ‘पपुलिष्टहरुको कुनै सिद्धान्त र विचार हुँदैन, उनीहरु समस्या मात्र देखाउँछन्, समाधान दिँदैनन् । यस्तो अवस्थामा संघीय लोकतान्त्रिक गणतन्त्र ल्याउन रगत, पसिना बगाएकाहरूले मौनता साध्नु हुँदैन । डटेर प्रतिवाद गर्नुपर्छ ।’
पोलिटब्युरो सदस्य रावलले पपुलिष्ट र अराजकता फैलाउने शक्तिहरूले व्यवस्था र नेतृत्व माथि चौतर्फी रुपमा आक्रमण गरिरहेको बेला एमाले कार्यकर्ताहरू मौन बस्न नहुने बताए ।
गाउँगाउँमा खुलेका सहकारीहरूले राष्ट्रिय पुँजीको निर्माण गरिरहेको बेला अमेरिकाबाट आएका एकथरी मानिसहरू सहकारी आन्दोलनलाई बदनाम गराउन निरन्तर लागेको र अर्काथरी राष्ट्रलाई कर तिर्नै पर्दैन भनेर सडकमा बर्बराइरहेको उनले बताए ।\
एमाले निश्चित विचार र सिद्धान्त बोकेको पार्टी भएकाले सामूहिकतामा विश्वास गर्ने र गुटगत प्रतिस्पर्धा अस्वीकार्य भएको बताउँदै उनले पार्टीबाट जितेका जनप्रतिनिधिहरूले नेतृत्वसँग सरसल्लाह गरी राम्रो काम गर्नुपर्ने बताए ।