के नेपालले रोजगार सेवामा कोरियाली अभ्यासबाट सिक्दै आफ्नै श्रम बजारलाई स्वचालित, व्यवस्थित र प्रविधिमैत्री बनाउन सक्छ ? के एकद्वार प्रणालीमार्फत रोजगार सेवाको प्रभावकारिता बढाएर बेरोजगारी घटाउन र आर्थिक सशक्तिकरणतर्फ अघि बढ्न नेपाल तयार छ ?
विश्व बैंकको आयोजनामा नेपाल सरकार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र अन्तर्गतका निकाय एवम् सम्बद्ध अन्य सरोकारवाला निकायहरूका श्रम तथा रोजगारसँग सम्बन्धित कर्मचारीहरू सम्मिलित रोजगार सेवाको सबलीकरण र कार्यस्थलमा आधारित तालिम कार्यान्वयन विषयक एक हप्ते अध्ययन भ्रमणमा भाग लिने अवसर प्राप्त भयो । उक्त अध्ययन भ्रमणबाट दक्षिण कोरियामा रोजगार सेवाको शुरुवात, सञ्चालन तथा व्यवस्थापन, रोजगार सेवाको सबलीकरणमा सम्बद्ध निकायहरूको भूमिका, कार्यस्थलमा आधारित तालिम सञ्चालनमा सरकार र निजी क्षेत्र सँग समन्वय, सहकार्य र नीतिगत व्यवस्था सम्बन्धी कोरियाली असल अभ्यासहरूको बारेमा बुझ्ने र सिक्ने मौका मिल्यो ।
रोजगार सेवाको सञ्चालनमा जब सेन्टरहरूको भूमिका, काम कर्तव्य, अधिकार, संगठन संरचना र कार्य प्रक्रियाको बारेमा कोरियाली असल अभ्यास र अनुभवहरूबाट नेपालको श्रम बजार व्यवस्थापन, रोजगारीका क्षेत्रहरूको पहिचान तथा कार्यस्थलमा आधारित तालिम सञ्चालनका सन्दर्भमा समय सापेक्ष नीतिगत, कार्यक्रमगत एवम् संरचनागत सुधार तथा रोजगार सेवाको प्रभावकारिता र रोजगार सेवाको केन्द्रको सबलीकरण सम्बन्धमा स्पष्ट मार्गचित्र र धारणाको विकास भयो ।
आर्थिक क्रियाकलापलाई गति दिई रोजगारी सिर्जना गर्न, बेरोजगारीको सामना गरिरहेका व्यक्तिहरूलाई रोजगारमूलक सेवा, सूचना, जानकारी तथा परामर्श प्रदान गर्न सार्वजनिक रोजगार सेवाको अहम् भूमिका रहेको हुन्छ । यस सेवा अन्तर्गत रोजगारीमा पदस्थापन, रोजगारी सिर्जना, रोजगारीको खोजी (जब सर्च), व्यावसायिक सीपमूलक एवम् कार्यस्थलमा आधारित तालिम, रोजगारदाता सम्बन्धी सेवाहरू र श्रम बजार सम्बन्धी विविध जानकारीहरू प्रदान गरिन्छ । रोजगार सेवाले बेरोजगार व्यक्तिहरूको रोजगारयोग्य क्षमता अभिवृद्धि गरी श्रम बजारमा प्रवेश सक्षम बनाउँछ । यसले रोजगारीका विभिन्न विकल्पहरूको छनौट गर्न सघाउँछ । रोजगार सेवालाई जति व्यवस्थित र प्रभावकारी बनाउन सकियो, त्यति नै उपलब्धिमूलक हुन्छ भन्ने दक्षिण कोरियाबाट सिक्न जरुरी छ ।
सन् १९९८ मा दक्षिण कोरियामा रोजगारीको अवस्था दयनीय रहेको थियो । त्यतिखेर कोरियामा बेरोजगारी दर ८.७ प्रतिशत थियो । कोरियामा सन् १९९८ मा पहिलो पटक रोजगार मेलाको आयोजना गरियो । जसमा एक दिनमा एक लाख बेरोजगार व्यक्तिहरूले रोजगारीका लागि निवेदन दर्ता गराएका थिए । सन् १९९७ को अन्त्यमा आएको एशियन वित्तीय संकटले सन् १९९८ मा कोरियामा पहिलो पटक सार्वजनिक रोजगार सेवाको शुरुवात गरियो । त्यो भन्दा अगाडी दक्षिण कोरियामा कुनै किसिमको रोजगार सेवा थिएन ।
दक्षिण कोरियामा सार्वजनिक रोजगार सेवालाई व्यवस्थित एवम् प्रभावकारी कार्यान्वयनमा सहजता प्रदान गर्न कोरियन लेवर एण्ड ईम्प्लोयमेन्ट सर्भिस, कोरियन डेभलपमेन्ट ईन्स्टिच्यूट, ईम्प्यमेन्ट वेलफेयर प्लस सेन्टर जस्ता रोजगार सेवासँग सम्बन्धित सार्वजनिक निकायहरूले नीतिगत, कार्यक्रमगत एवम् अध्ययन अनुसन्धानमूलक सेवा प्रवाह गर्दै आएको छ । रोजगारीका सन्दर्भमा अध्ययन अनुसन्धान गर्ने मुख्य संस्थाको रूपमा कोरिया ईम्प्लोयमेन्ट इन्फरमेसन सर्भिसेसको स्थापना गरियो । सन् १९९६ मा दक्षिण कोरियामा ८० जना काउन्सेलरहरुले परामर्श सेवा प्रदान गर्दै आएको थियो भने सन् २००० मा काउन्सेलरहरुको सङ्ख्यालाई ३००० पुर्याइयो। यसले बेरोजगारीको चपेटामा परी निराश बनेका व्यक्तिहरूलाई रोजगारमूलक सेवा, सूचना र जानकारी प्रदान गरी श्रम बजारमा प्रवेश गर्न सक्षम बनाउने काम गरेका थिए ।
सन् २०२३ सम्म दक्षिण कोरियामा १०२ वटा ईम्प्लोयमेन्ट वेलफेयर प्लस सेन्टर, ३० वटा जब सेन्टर र ४२ वटा स्थानीय रोजगार कार्यालय गरी कुल १७४ वटा जब सेन्टरहरूको स्थापना गरिएको थियो । जसमा करिब ५२०० जना कर्मचारीहरू कार्यरत रहेका छन् । एउटा जब सेन्टरमा १७० जनासम्म कर्मचारीहरू कार्यरत रहेका छन् । जब सेन्टरहरूमा रोजगार अधिकृत, श्रम सम्बन्ध अधिकृत, तालिम अधिकृत, सूचना प्रविधि अधिकृत, प्रशिक्षक, रोजगार विज्ञ, परामर्शकर्ता आदि जस्ता पदनामहरुको व्यवस्था गरिएका छन् । जब सेन्टरहरू सङ्घीय सरकारको प्रत्यक्ष नियन्त्रण र निर्देशनमा सञ्चालित निकायको रूपमा रहेका छन् । जब सेन्टरहरूमा निजामती सेवा र सार्वजनिक सेवा गरी दुई किसिमका कर्मचारीहरू मार्फत सेवा प्रदान गरिँदै आएका छन् । जब सेन्टर सञ्चालनमा प्रदेश र स्थानीय सरकारहरूको पनि साझेदारी हुने गर्छ । ईम्प्लोयमेन्ट वेलफेयर प्लस सेन्टरले एकद्वार प्रणाली मार्फत रोजगारी र समाज कल्याणका सेवाहरूलाई एकीकृत रूपमा प्रवाह गर्ने कार्य गर्दछ । यस्ता जब सेन्टरहरूमा ५ वटा महाशाखाहरू जस्तै रोजगार सहायता समन्वय महाशाखा, बेरोजगार लाभ महाशाखा, राष्ट्रिय रोजगार सहायता महाशाखा, कर्पोरेट सहयोग महाशाखा र व्यावसायिक सीप विकास महाशाखा रहेका छन् । सबै विभागका छुट्टाछुट्टै काम कर्तव्यहरू निर्धारण गरिएका छन् ।
कोरियन लेवर एण्ड ईम्प्लोलयमेन्ट सर्भिस नामक संस्था श्रम तथा रोजगारी सम्बन्धी सेवाहरू प्रदान गर्न समर्पित कोरियन सरकारको एक सार्वजनिक निकाय हो । जसले पारस्परिक रूपमा लाभदायक श्रम व्यवस्थापन सहयोगमा आधारित स्थिर औद्योगिक सम्बन्धलाई प्रवर्द्धन गर्न, रोजगारीमा भेदभाव रोक्न, कार्यस्थलमा हुने आविष्कारलाई प्रवर्द्धन गर्न, मध्यम उमेरका कामदारहरूको लागि क्यारियर विकास र रोजगारी सङ्क्रमणलाई सहयोग गर्न, अन्तर्राष्ट्रिय विकास र श्रम रोजगारीको क्षेत्रमा सहयोग एवम् सहजीकरण गर्न महत्त्वपूर्ण भूमिका खेल्दछ । विदेशमा काम गर्ने कोरियाली कम्पनीहरूलाई सहयोग प्रदान गर्नुको साथै विदेशी कामदारहरूका लागि रोजगार शिक्षा प्रदान गर्न समेत अग्रणी भूमिका निर्वाह गर्दछ ।
सर्वसाधारणलाई रोजगारीमा सहज पहुँच कायम गर्न तथा रोजगार सेवाको प्रभावकारी रूपमा कार्यान्वयन गर्न सन् १९९८ मा वेबमा आधारित वर्कनेट नामक डाटा वेस र मोबाइल एपको विकास गरियो । तत् पश्चात् सार्वजनिक रोजगार सेवालाई अनलाइन र प्रत्यक्ष दुइटै रूपबाट सेवा प्रदान गर्ने व्यवस्था गरियो । यो नै दक्षिण कोरियाको रोजगारीको क्षेत्रलाई सुधार र विकास गर्ने आधार तयार भयो । वर्कनेटमा सरकारी प्रमाणित रोजगार जानकारी, सम्बन्धित कार्य जानकारी, भर्ती जानकारी, एकीकृत कम्पनी जानकारी, एआई नोकरी सिफारिस, नोकरी देखभाल, नोकरी/करियर सेवाहरू, युवा, महिला र मध्यम उमेरका प्रयोगकर्ताहरूका लागि रोजगार आदि जस्ता मुख्य सेवाहरू रहेका छन् । यस अन्तर्गत अन्य कैंयौ सब क्याटेगोरिज बनाई रोजगार सेवालाई एकीकृत गरी सञ्चालन गर्ने गरिन्छ । वर्कनेटको सञ्चालन जब सेन्टरहरू मार्फत नै गरिन्छ ।
जब सेन्टरहरूले उद्योग, तालिम केन्द्र र रोजगार सेवा प्रवाह गर्ने सेवा प्रदायकहरूलाई वर्कनेट मार्फत आबद्ध गरेका छन् । कोरियामा बेरोजगार व्यक्तिहरूका लागि बेरोजगार बिमाको समेत व्यवस्था गरिएको छ । जुन जब सेन्टरहरूमार्फत नै सञ्चालन गर्ने गरिन्छ । जब सेन्टरहरूले तालिम सञ्चालनको काम पनि आफैले गर्ने गर्छ । दक्षिण कोरियामा जब प्लस सेन्टरहरू एकदम व्यवस्थित र प्रभावकारी रहेको छ । जब सेन्टरहरू मार्फत एकीकृत रूपमा रोजगारमूलक सेवाहरूको प्रवाह हुँदै आएको छ । नेपालमा पनि रोजगारमूलक सेवाहरूलाई एकीकृत एवम् एकद्वार प्रणालीमार्फत कार्यान्वयन गर्न रोजगार सेवा केन्द्रहरूको संस्थागत क्षमता विकास गर्दै जानु पर्छ ।
कोरियाली अभ्यास र अनुभवबाट भएको मुख्य सिकाइहरू
कोरियाको रोजगार सेवा सञ्चालनमा लामो अनुभव रहेको छ । कोरियाले समय समयमा नमुना अभ्यासहरू अवलम्बन गरी रोजगार सेवालाई व्यवस्थित एवम् प्रभावकारी बनाउँदै गएको देखिन्छ । रोजगार सेवा र सहायतालाई व्यवस्थित एवम् प्रभावकारी बनाउन निम्न कोरियाली अभ्यासहरू सिकाइको रूपमा रहेका छन् ।
१. श्रम बजारको सुधार, जब सर्च, जब म्याचिङ्ग, प्राइभेट सेक्टर इन्गेजमेन्टका लागि सूचना प्रविधिमैत्री डाटा बेसको प्रयोग महत्त्वपूर्ण र अनिवार्य रहनु,
२. प्रविधिले बेरोजगार व्यक्तिहरूका लागि एउटा भरपर्दो साथीको रूपमा रही बेरोजगार व्यक्ति, रोजगारदाता र सरकार बिचको त्रिकोणात्मक सम्बन्ध कायम गर्न सघाउनु,
३. बेरोजगार व्यक्तिहरूको सूचीकरण नियमित गर्नु,
४. अधिक रोजगारी सिर्जना गर्न सेवा क्षेत्र र उद्योग क्षेत्र लक्षित तालिमहरूको सञ्चालन महत्त्वपूर्ण रहनु,
५. सीप विकास तालिमले बेरोजगार व्यक्तिहरूलाई श्रम बजारमा प्रवेश गर्न सहज हुनु,
६. व्यावसायिक तालिमहरू सार्वजनिक संस्थाहरू मार्फत नै सञ्चालन गर्नु,
७. कार्यस्थलमा आधारित तालिमले परीक्षार्थी र उद्योग दुवैको उत्पादकता बढ्नु,
८. सार्वजनिक रोजगार सेवाले रोजगारी सिर्जना एवम् आर्थिक विकासमा सघाउनुको साथै गरिबी तथा बेरोजगारी न्यूनीकरणमा उल्लेख्य सहयोग गर्नु ।
कोरियाली अभ्यास र अनुभवबाट नेपालले अनुसरण गर्नुपर्ने महत्त्वपूर्ण कुराहरू
दक्षिण कोरियाले बेरोजगारीको समस्याबाट छुटकारा पाउन आज भन्दा करिब २५ वर्ष अगाडी देखि नै जब सेन्टरहरूको स्थापना गरी रोजगार सेवाको सञ्चालन गर्दै आएको छ । रोजगार सेवामा गरिएको लगानीले पच्चिस वर्ष अगाडी सम्मको भविष्य निर्माण गर्न महत्त्वपूर्ण योगदान गर्दछ । त्यसैले कोरियाली अभ्यास र अनुभवबाट नेपालले निम्न अभ्यासहरूलाई अनुसरण गर्न सकिन्छ ।
१. नेपालको रोजगारीको भविष्य, रोजगारीको प्रवृत्ति विश्लेषण, रोजगारीको पूर्वानुमान सम्बन्धी अध्ययन अनुसन्धान गर्नुपर्ने र अध्ययनले तोकेको रोजगारीको क्षेत्र अनुसार नै जनशक्ति उत्पादन गर्न केन्द्रित हुनु पर्ने,
२. नेपालको श्रम बजारलाई व्यवस्थित एवम् प्रभावकारी रूपमा चलायमान बनाउन सूचना प्रविधिमा आधारित प्रस्तावित एनईएमआईएस (नेशनल एम्प्लोयमेन्ट म्यानेजमेन्ट इन्फर्मेसन सिस्टम) अपरिहार्य रहेको ले यसको अविलम्ब निर्माण गरी सञ्चालन गर्नुपर्ने,
३. रोजगार सेवा केन्द्रको सञ्चालन तथा व्यवस्थापनमा प्रदेश र स्थानीय तहको अनिवार्य लागत साझेदारीको नीतिगत व्यवस्था गरी सेवा केन्द्रको सञ्चालन, नियन्त्रण र रेखदेखको नेतृत्व संघीय सरकारले गर्नुपर्ने,
५. एकीकृत रोजगारमूलक सेवाको सञ्चालन एवम् व्यवस्थापन एकद्वार प्रणालीबाट गर्न रोजगार सेवा केन्द्रको क्षमता विकास गर्नुपर्ने,
६. प्राविधिक एवम् व्यावसायिक सीप तथा क्षमता विकास तालिम सञ्चालन गर्दा रोजगार सेवा केन्द्रमा सूचीकृत बेरोजगार व्यक्तिहरूलाई पहिलो प्राथमिकतामा राखी तालिम सञ्चालन गर्नुपर्ने,
७. रोजगार सेवा केन्द्रलाई तालिम केन्द्रहरुसंग आबद्ध गर्नुपर्ने,
८. साना तथा मझौला उद्योगहरूलाई लक्षित गरी जनशक्ति तयार गर्नुपर्ने,
९. वैदेशिक रोजगारीमा जाने व्यक्तिहरूलाई समूहमा पठाउने व्यवस्था गर्नुपर्ने,
१०. नेपालको नेशनल कम्पीटेन्सी स्ट्याण्डर्ड निर्धारण गर्नुपर्ने,
११. बेरोजगार व्यक्तिहरूलाई उपलब्ध रोजगारीका अवसर प्रदान गर्न निजी क्षेत्र वा रोजगारदाताहरूलाई प्रोत्साहन गर्ने खालको आवश्यक नीति तथा कार्यक्रम (जस्तै: कर/भन्सारमा छुट, निःशुल्क दर्ता तथा नवीकरण, विद्युत् महसुलमा छुट, जनशक्ति उत्पादनमा सहयोग आदि) अंगिकार गर्नुपर्ने,
१२. विश्व श्रम बजारको माग अनुसारको जनशक्ति उत्पादनमा सहयोग पुग्ने अभिप्रायले व्यावसायिक सीप विकास प्रतिष्ठान र विश्वको ख्याति प्राप्त ग्लोबल इन्स्टिच्युट फर ट्रान्सफर्मिङ्ग स्किल कोरिया बीच भगिनी सम्बन्ध कायम गर्न उपयुक्त हुने,
१३. स्थानीय, राष्ट्रिय तथा विश्व श्रम बजारमा खपत हुने सीपको पहिचान तथा वर्गीकरण गर्नुपर्ने,
१४. कार्यस्थलमा आधारित तालिमको दायरा र क्षेत्र विकास गरी रोजगार एवम् स्वरोजगार सिर्जना हुन सक्ने विभिन्न क्षेत्र लक्षित तालिमहरू पनि सञ्चालन गर्नुपर्ने ।
अन्त्यमा नेपालको श्रम बजारमा खुम्चिँदै गएको रोजगारीका अवसरहरूमा वृद्धि गर्न, कार्यस्थलमा आधारित तालिमहरूको सञ्चालन एवम् व्यवस्थापन गर्न, रोजगारमूलक सेवाहरू प्रवाह गर्न तथा स्थानीय आर्थिक विकासमा रोजगार सेवा र रोजगार सेवा केन्द्रको भूमिका अपरिहार्य रहेको छ । नेपालको श्रम बजारलाई स्वचालित, व्यवस्थित, चलायमान, गतिशील र प्रविधिमैत्री बनाउन रोजगार सेवाको आवश्यकता दिन प्रति दिन बढ्दै गएको देखिन्छ । रोजगार सम्बद्ध सेवाहरूलाई एकद्वार प्रणालीमार्फत सञ्चालन गर्न रोजगार सेवा केन्द्रको संस्थागत क्षमता एवम् सबलीकरण गर्दै जानु पर्छ । नेपालको समृद्धि र विकासमा समेत रोजगार सेवाले अहम् योगदान गर्न सक्ने अनुमान रोजगार सेवामा कोरियाली अभ्यास र अनुभवको आधारमा सजिलै गर्न सकिन्छ ।