काठमाडौँ । अन्तर्राष्ट्रिय मुद्राकोष (आईएमएफ)ले एसिया प्यासिफिक क्षेत्रको आर्थिक वृद्धिमा थोरै सुधार हुने प्रक्षेपण गरेको छ ।
यसअघि गत अप्रिलमा यस क्षेत्रमा ४.५ प्रतिशत आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको आइएमएफले शुक्रवार सार्वजनिक ‘रिजनल इकोनोमिक आउटलुक’मा त्यसलाई सुधार गरी ४.६ प्रतिशत पुर्याएको छ । यो सालको शुरु आधा वर्षमा यस क्षेत्रले राम्रो प्रदर्शन गरेकाले आर्थिक वृद्धिमा सुधारको अपेक्षा गरिएको आईएमएफले जनाएको छ ।
विश्व आर्थिक वृद्धिमा यस क्षेत्रको योगदान ६० प्रतिशत कायमै रहने पनि प्रतिवेदनमा उल्लेख । यो वर्ष र आगामी वर्ष पनि यस क्षेत्रको आर्थिक वृद्धि सामान्य रहने पनि आईएमएफले उल्लेख गरेको छ । ‘औद्योगिक उत्पादन एसिया प्यासिफिक क्षेत्रको आर्थिक वृद्धिको इन्जिन हो । तर आधुनिक व्यापारिक सेवातर्फको संक्रमण यस क्षेत्रको वृद्धि र उत्पादकत्वका नयाँ स्रोत हुन सक्छन्,’ कोषका एसिया प्यासिफिक विभागका निर्देशक कृष्ण श्रीनिवासनले बताए ।
यसका लागि एसियाली मुलुकहरूले आफ्ना अर्थतन्त्रलाई व्यापार र प्रतिस्पर्धाका लागि खुला गर्नुपर्ने उनले बताए । सन् २०२५ का लागि भने ४।४ प्रतिशत आर्थिक वृद्धिको प्रक्षेपण गरिएको उनले जानकारी दिए ।
तर भूराजनीतिक टेन्सन बढ्दै जानु, विश्वको माग कत्तिको बलियो हुन्छ भन्ने निश्चित नहुनु तथा सम्भावित वित्तीय अस्थिरताका कारण जोखिम भने बढेको पनि प्रतिवेदनले उल्लेख गरेको छ।
यस क्षेत्रका अधिकांश क्षेत्रमा मूल्यवृद्धि कम भएको आईएमएफले जनाएको छ । उदीयमान एसियाली मुलुकहरूमा सन् २०२३ मै मूल्यवृद्धि लक्षित सीमामा आइसकेको र विकसित मुलुकमा मूल्य अपवृद्धिको गति कम भएको पनि प्रतिवेदनले उल्लेख गरेको छ ।







