त्रिशूली (नुवाकोट) । नुवाकोटमा खानेपानी तथा सरसफाइ डिभिजन नं. ६ को कार्यालय स्थापना भएको छ । बागमती प्रदेश सरकारअन्तर्गतको उक्त कार्यालय आज बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा (तामाङ) ले उद्घाटन गरे ।
राज्य पुनः संरचना पश्चात गाभिएका कार्यालयको कार्यक्षेत्र धेरै हुँदा योजना तथा कार्यक्रम गुणस्तरीय हुन नसकेको महसुस गरी कार्यालय विस्तार गरिएको मुख्यमन्त्री लामाले बताए । बागमती प्रदेश सरकारको गत असोज १९ गतेको निर्णयअनुसार विगतमा डिभिजन नं. २ धादिङको कार्यक्षेत्रअन्तर्गत नुवाकोट र रसुवा रहेका थिए । हाल रसुवाको लागि विदुरमा कार्यालय स्थापना गरिएको छ ।
नयाँ कार्यालय स्थापनासँगै नुवाकोट र रसुवाका लागि चालु आवदेखि कार्यान्वयन गर्न लागिएका योजना तथा कार्यक्रम, बजेट र कर्मचारी सुनिश्चित गरिएको छ । प्रदेशको ऊर्जा तथा सिँचाइ सचिव मोहनकुमार शाक्यका अनुसार नुवाकोटमा संघीय सरकारबाट प्राप्त ३२ वटा योजनाको लागि रु. एक करोड ७५ लाख र प्रदेश सरकारबाट दुई सय २३ वटा योजनाका लागि रु. २४ करोड ५६ लाख ६० हजार बजेटसहित डिभिजन कार्यालयलाई जिम्मेवारी हस्तान्तरण गरिएको छ ।
रसुवाका लागि संघीय सरकारबाट प्राप्त नौ वटा योजनाका लागि रु. ५३ लाख र प्रदेश सरकारबाट ८९ वटा योजनाका लागि रु. आठ करोड ४० लाख बजेट डिभिजन नं. ६ विदुरलाई जिम्मेवारीसहित हस्तान्तरण गरिएको छ ।
योजना तथा बजेटसहित दिलीपकुमार शाह प्रमुख रहने गरी डिभिजनका लागि आवश्यक कर्मचारीको प्रबन्ध मिलाएको जनाइएको छ ।