काठमाडौँ। काठमाडौँ मेडिकल कलेज (केएमसी) का इन्टर्न चिकित्सकले बढी शुल्क फिर्ताको माग राख्दै आन्दोलन गरेका छन् । १ कात्तिकदेखि आन्दोलनमा उत्रिएका चिकित्सकले मंगलबार छैटौँ दिन पनि अस्पतालको बहिरंग सेवा ठप्प पारेका छन् ।
काठमाडौँ विश्वविद्यालय अन्तर्गत २०७५/७६ मा एमबीबीएस अध्ययन गरेका इन्टर्न चिकित्सकसँग कलेजले प्रति विद्यार्थी इन्टर्नसिप शुल्क २ लाख, इन्टर्नल परीक्षा शुल्क १ लाख ८० हजार, केयू रजिष्ट्रेसन शुल्क १ लाख ५ हजार, कम्युनिटी भिजिट शुल्क ९० हजार र एनएमसी रजिष्ट्रेसन शुल्क ५ हजार गरी कुल ४ लाख ९० हजार बढी शुल्क लिएको विद्यार्थीले जनाएका छन् ।
आन्दोलन गरिरहेका ५० जना नेपाली र ४० जना विदेशी विद्यार्थीबाट कलेजले कुल ३ करोड ७१ लाख ७८ हजार ४ सय रुपैयाँ अतिरिक्त शुल्क असुलेको दाबी छ । अतिरिक्त शुल्क लिएको विषयमा अस्पताल प्रशासनसँग शुल्क समायोजन गरिदिन पटक-पटक आग्रह गर्दा पनि कुनै प्रक्रिया नआएपछि आन्दोलनमा उत्रिएको एक इन्टर्न चिकित्सकले बताए ।
अस्पताल व्यवस्थापनले अतिरिक्त शुल्कको विषयमा पटक पटक छलफल भएको बताएको छ। विद्यार्थीहरूले बढी लिएको सबै शुल्क फिर्ता नभएसम्म आन्दोलन जारी रहने बताएका छन् ।