काठमाडौँ । साफ वुमन्स च्याम्पियनसिप २०२४ मा साविक विजेता बंगलादेशले पाकिस्तान विरुद्ध संघर्षपूर्ण बराबरी गरेको छ ।समूह ए अन्तर्गत आइतबार दशरथ रंगशालामा भएको खेलमा पाकिस्तानले बंगलादेशलाई १-१ को बराबरीमा रोकेको हो ।
सामसुन्नाहार जुनियरले ईन्जुरी टाईममा गोल गरेपछि साविक विजेता बंगलादेश स्तब्धपूर्ण हारबाट जोगिएको थियो ।
पहिलो हाफमा अग्रता लिएको पाकिस्तान ऐतिहासिक जितनजिक थियो । तर ईन्जुरी टाईममा सम्हालिन नसक्दा बराबरीमा चित्त बुझाउन बाध्य भयो ।
पाकिस्तानका लागि ३२औँ मिनेटमा जमिना समिन मलिकले गोल गर्दै अग्रता दिलाइन् ।
बंगलादेशका लागि ४३ औँ मिनेटमा रितु पोर्ना चक्माले बक्स बाहिरबाट हानेको प्रहार पोष्टमा लागेर फर्कँदा बंगलादेशले बराबरी गर्ने अवसर गुमायो ।
७७ औँ मिनेटमा पाकिस्तानकीअमिना हानिफले वान भर्सेस वान वानको अवस्थामा गोल गर्न चुकेपछि पाकिस्तानले अग्रता दोब्बर बनाउने अवसर गुमायो ।
दोस्रो हाफमा लगातार आक्रमण गर्दै पाकिस्तानमाथि दबाब बनाएको बंगलादेशले ईन्जुरी टाईममा गोल गर्दै हार टारेको हो ।
ईन्जुरी टाईममा साम्सुन्नाहार जुनियरले हेड मार्फत गोल गर्दै खेल बराबरी गरेकी हुन् ।
बराबरीपछि बंगलादेश र पाकिस्तानले १-१ अंक जोडेको छ ।यस खेलको नतिजापछि समूह ए बाट भारत सेमिफाइनल पुगेको छ ।
भारतले पहिलो खेलमा पाकिस्तानलाई ५-२ ले हराएको थियो ।अब बुधबार हुने भारत र बंगलादेशबीचको खेलबाट सेमिफाइनल पुग्ने अर्को टोलीको टुंगो लाग्नेछ ।
च्याम्पियनसिप अन्तर्गत सोमबार समूह बी को दुई खेल हुनेछ ।
पहिलो खेलमा भुटान र श्रीलंका तथा दोस्रो खेलमा नेपाल र माल्दिभ्सबीच प्रतिस्पर्धा हुनेछ ।