समाज विविधताको सम्मिश्रण हो । समाजको यो विविधता आफैमा विशेषतायुक्त हुन्छ । राष्ट्र धेरै विशेषतायुक्त समाजहरूको सम्मिश्रण हो । समाज र राष्ट्रका यी विशेषताहरू प्रत्येक राष्ट्रको मौलिक पहिचान र गर्वको विषय हुने गर्दछ ।राष्ट्रिय पहिचान र गर्व सँगसँगै स्थानीय पहिचानको पनि महत्त्व खोजिने विषय स्वभाविक प्रक्रिया हो । बहुजातिय, बहुभाषिक एवं लामो ऐतिहासिक पृष्ठभूमि भएको समाजमा संस्कृतिको पनि विविधता रहन्छ । जातीय परम्पराहरू अलग–अलग हुन सक्छन् उनीहरूको रीतिरिवाज, लवाई खवाई, मूल्य मान्यता धर्म र सांस्कृतिक क्रियाकलापमा, मा विविधता रहन्छ । यी सबै पक्षहरूको पहिचान एवं सम्मान गर्ने र कुनै विभेद नहुने अवस्थाको सिर्जना गर्नु नै विविधता व्यवस्थापन हो ।यसैले विविधता व्यवस्थापन प्रजातान्त्रिक शासन प्रणालीको प्राथमिक कार्यसूची बन्ने गर्दछ ।
नेपाल आफैमा विविधतायुक्त देश हो । नेपालमा सय भन्दा बढी जातजाति र भाषाभाषी, विविध धर्मावलम्बी र संस्कृति रहेका छन् । नेपालमा भौगोलिक विविधतामा आधारित सांस्कृतिक र सामाजिक विविधता पनि विद्यमान रहेको छ । यो विविधतामा अनेकौँ सौन्दर्यता पनि लुकेको छ । विविधतामा एकता नेपाली समाजको विशेषता हो। विविधताको सौन्दर्यतालाई राष्ट्रिय भावनामा बदल्न सके मात्र विविधताले सकारात्मक परिणाम दिन सक्दछ । सकारात्मक परिणाम दिन सक्ने गरी गरिएको व्यवस्थापन अहिलेको सामयिक आवश्यकता हो । विविधता नेपाल राज्यको मौलिक पहिचान हो यसैले विविधताको व्यवस्थापन नेपालको सन्दर्भमा समेत सामयिक बन्ने गरेको छ ।
नेपालको वर्तमान संविधानले देशको विविधतायुक्त संरचना लाई राम्रो सँग आत्मसात् गरेको छ । नेपालको संविधानले बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसाँस्कृतिक तथा भौगोलिक विविधतायुक्त विशेषतालाई एकता, सामाजिक सांस्कृतिक ऐक्यबद्धता, सहिष्णुता र सद्भावको प्रबध्र्दन गर्ने अपेक्षा लिएको छ । संविधानले देशमा लामो समय देखि वर्गीय, जातीय, क्षेत्रीय, भाषिक, धार्मिक, लैङ्गिक क्षेत्र मा विद्यमान रहेका विभेदको अन्त गर्ने लक्ष्य लिएको छ । यसको अतिरिक्त जात जात र अन्तर जातको बिचमा रहेको सबै प्रकारका जातीय छुवाछुतको अन्त्य गर्नु वर्तमान संविधानको अर्को महत्त्वपूर्ण लक्ष्य हो । माथि उल्लेखित यी असमानताको अन्यबाट मात्र आर्थिक समानता, समृद्धिको सुनिश्चितता , सामाजिक न्यायको प्रबध्र्दन गर्न सकिने हुन्छ । हाम्रो संविधानले राष्ट्रको परिभाषाभित्र जाति, धर्म, भाषा, संस्कृति, भूगोल तथा सार्वभौमिकता आदि पक्षलाई समावेश गरेको छ यी पक्षहरूमा जनताको सहिष्णुता आवश्यकीय पक्ष हो । नेपालको संविधानले विविधता व्यवस्थापनलाई विविध आयामहरूबाट सम्बोधन गर्ने प्रयास गरेको छ। संविधानले आर्थिक सामाजिक दृष्टिले पछाडि परेका, राज्यको सुविधाबाट वञ्चित र सीमान्तकृत समुदायलाई मुलुकको सर्वाङ्गीण विकासमा सहभागी गराउँदै समावेशी लोकतन्त्रको अवधारणालाई संस्थागत गर्ने लक्ष्य लिएको छ। मौलिक हकहरू र राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्वले सामाजिक न्याय, सामाजिक समावेशीकरण र समावेशितालाई प्राथमिक विषय बनाएको छ ।
हामी जुनसुकै जाति, भाषा, धर्म र सम्प्रदायका व्यक्तिहरिहरू भए पनि हाम्रो पहिचान नेपाली हो । हाम्रा प्रत्येक बस्तीहरू विविध जाति, धर्म संस्कृति, भाषीको अन्तर घुलनले सौन्दर्यमय बनेको छ । सामाजिक सम्बन्ध र सहकार्यबिना हाम्रो व्यक्तिगत जीवन र सामाजिक प्रणालीले पूर्णता पाउन सक्दैन । हाम्रो राजनीतिक, सांस्कृतिक, धार्मिक आस्था, परम्पराहरू भिन्न होलान् तर हामी छिमेकी, नाता, कुटुम्ब, विवाह, पूजा, पर्व, पँधेराको सम्बन्धले एक आपसमा कसिलो ढङ्गले बाँधिएका छौँ । संस्कृतिले जेलिएको हाम्रो सामाजिक प्रक्रिया र अन्तरसम्बन्धलाई वाद, सम्प्रदाय वा धार्मिक भिन्नताले पनि टुटाउन सकेको छैन बरु अझ बढी मजबुत बनाउँदै गएको छ ।
आज हामी दसैँ मनाइरहेका छौँ । दसैँलाई नेपालीहरूकै सबैभन्दा महान् चाडका रूपमा मनाउने गरिन्छ । दसैँ लगायत अन्य धेरै चाडपर्वहरू उति नै महत्त्वपूर्ण रहेका छन् ।यी सबै चाडपर्वहरूमा आ आफ्ना सांस्कृतिक मान्यताहरू रहेका छन् र ती सबै सामाजिक सद्भाव र सहिष्णुताका क्षेत्र बनेका छन् ।
किंवदन्ती अनुसार दशैँ वैदिक कालदेखि नै मनाइँदै आएको विश्वास छ । दशैँ मनाउने विषयमा मूलतः दुई विश्वासहरू रहेका छन् एक नवदुर्गा भवानीको विजय सँग सम्बन्धित र अर्को मर्यादा पुरुषोत्तम रामले रावणमाथि हाँसिल विजय सँग सम्बन्धित छ ।
यसै गरी भगवान् रामले दश इन्द्रियहरूमा विजय प्राप्त गरिसकेको रावणमाथि विजय प्राप्त गरेर असत्य र नकारात्मक शक्तिमाथि सत्यको सदा जीत हुन्छ भनेर प्रमाणित गरेकाले नै यस दिनलाई विजय दशमीका रूपमा मनाइएको हो । तथापि यो दसैँको सम्झना विशेष रूपमा चैते दसैँको वेलामा गर्ने गरिन्छ भन्ने विश्वास पनि रहँदै आएको छ ।
चैते दसैँका दिन मर्यादा पुरुषोत्तम प्रभु श्री रामचन्द्र आफ्नो १४ वर्षे वनवास सकाएर अयोध्या फिर्नुभएको मानिन्छ, आफ्नी श्रीमती सीताको अस्मिता रक्षार्थ अनि पापी रावणको दुस्साहस र असुरमुखी व्यवहारबाट संसारलाई जोगाउन भगवान् श्री रामले रावणको वध गर्नुभएको थियो । यसरी रावणको वध गर्नकालागि देवी दुर्गाले रामलाई मद्दत गर्नुभएको थियो, आज राम अनि दुर्गा लगायत अन्य धेरै देवीदेवताको पूजा गरिन्छ । यी सम्पूर्ण कुराहरू वहाँको १४ वर्षे वनवास भित्रै भएको थियो र चैते दसैँका दिन वहाँको सकुशल आगमन भएकोमा अयोध्यावासी लगायत सबैले असत्यमाथि सत्यको जितको रूपमा चैते दसैँ मनाएका हुन् भन्ने सामाजिक मान्यता रहेका छन् । पुराना कथनहरूका अनुसार पहिले पहिले मुख्य दसैँ चैतमा पर्ने गर्दथ्यो तर उक्त समयमा सुख्खा भएर खडेरी पर्ने, मौसम बदली साथै दसैँको गरिष्ठ भोजन अनि हिँडडुलले धेरै जना बिरामी परेपछि दसैँलाई वर्षको मध्यमा सारिएको मान्यता छ ।
दशैँमा विभिन्न दिनहरूमा नवदुर्गा भवानीको विभिन्न रूपको पूजा गर्ने गरिन्छ । जसमा पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धीदात्रीको गरी घटस्थापनाको दिनदेखि नवमीसम्म दुर्गा भवानीका ९ रूपको पूजा आराधना गरिन्छ । नवदुर्गा भवानीले राक्षसहरूको संहार गरेर असत्यमाथि जीत हासिल गरेको हुनाले दशैँमा शक्तिको आराधना गर्ने शास्त्रीय परम्परा रहँदै आएको छ । सप्तमी अर्थात् फूलपातीका दिनका दिन बेलपत्र, धानको बाला, अनार, अदुवाको बोट, कच्चु, उखु, केरा आदि नौ प्रकारका पल्लवहरू घरमा भित्राउने गरिन्छ । यसैगरी नवरात्रको आठौँ दिनमा महाकालीको विशेष पूजाआजा गरिन्छ । देवी भागवत अनुसार प्राचीनकालमा दक्ष प्रजापतिको यज्ञ नाश गर्ने ज्यादै शक्तिशाली भद्रकालीका साथ अष्टमीका दिन उत्पन्न भएको विश्वासमा पूजा गर्ने चलन छ ।
दसैँ मनाउने शैलीमा केही फरकपना पनि रहेका छन् । कतै दशमीको दिन देखि कोजाग्रत पूर्णिमासम्म नै टिका लगाउने चलन छ भने कतै दशमीको दिन मात्र टिका लगाउने चलन छ ।
दसैँमा अक्सर आफूभन्दा ठुला, मान्यजनबाट टिका लगाएर आशीर्वचन दिने गरिन्छ । यसले मान्यजनप्रति श्रद्धाभाव राख्नुपर्छ भन्ने संकेत गर्छ । मान्यजनले दिने आशिष हाम्रो निम्ति जीवनोपयोगी हुन्छ भन्ने पनि हो । नेपालीहरूको महानपर्व विजयादशमीको दिन दिइने संस्कृतका श्लोकहरू प्रतिकात्मक रूपमा पौराणिक पात्रहरूलाई आदर्श पात्र मानेर दिइएका आशिर्वादहरु हुन् ।
दसैँको पारम्परिक तर धार्मिक सांस्कृतिक महत्वको साथसाथै स्व सुधार गर्ने र आफू भित्र रहेका काम क्रोध लोभ मोह अहङ्कार जस्ता विकृतसँग माथि विजय प्राप्त गर्ने तथा हाम्रा ५ कर्मेन्द्रिय र ५ ज्ञानेन्द्रियका नराम्रा पक्षहरूमाथि विजय प्राप्त गरेर जीवनलाई सत्मार्ग तिर लैजाने सकारात्मक ऊर्जा प्रदान गर्ने दृष्टिले दसैँ लाई महत्त्वपूर्ण पर्वको रूपमा मान्ने गरिन्छ । यसका अतिरिक्त आफूभन्दा मान्यजनबाट टिका थापेर, उहाँहरूको आशीर्वाद ग्रहण गरेर सुकर्ममा लाग्ने एक प्रकारको अभिलाषा सवैमा रहेको हुन्छ ।
देश भित्रै पनि र विदेशबाट आफन्त जम्मा हुने मौका, आशीर्वाद र शुभेच्छा साटासाट अवसर दसैँले जुटाइदिने गरेको छ । विविधताका बिच सामाजिक, धार्मिक, सांस्कृतिक सहिष्णुता कायम गर्ने पर्वको रूपमा समेत यस चाडको विशिष्ट पहिचान रहेको छ । यसैले सबै नेपालीमाझ दसैँको गहिरो प्रभाव रहँदै आएको छ ।
नागरिकहरू बिच का प्रेम, सद्भाव,स्नेह, साझा स्वार्थ राष्ट्रिय एकताको प्रतिविम्ब हो । जन जनमा यस किसिमको भावनाको विकास हुनुपर्छ । विभिन्न वर्ग र समुदायका मानिसमा हुने राष्ट्रियताप्रतिको संवेगात्मक भावनाले सामाजिक न्याय र राष्ट्रिय एकताको सन्देश दिन्छ । यस्तो भावनाको विकास गर्ने माध्यम लोकतन्त्र, राष्ट्रिय एकता र सामाजिक न्याय हो । यसले नागरिकमा उच्च राष्ट्रिय मनोबलका साथ एउटै सूत्रमा आबद्ध हुन र सहकार्यमा जुट्न मद्दत गर्दछ । आज दशैको यस पावन अवसरले हाम्रो समृद्ध सांस्कृतिक पहिचानलाई अझ समृद्ध बनाउन सहयोग गर्नेछ । विविधता बिच एकता कायम गर्न दसैँ र यस्ता अन्य चाडपर्वहरू समृद्ध सामाजिक सांस्कृतिक उन्नयनका आधार बन्ने छन् । सवैमा शुभकामना ।
पूर्व सचिव डा. रेग्मी गीतकारसमेत हुन्