काठमाडौँ । राफेल नाडालले यस सिजनको अन्त्यसँगै टेनिसबाट संन्यास लिने बिहीबार घोषणा गरेका छन् । यससँगै २२ पल्टका ग्रान्ड स्लाम उपाधि विजेता स्पेनी खेलाडीको खेल जीवनमा पूर्णविराम लाग्नेछ ।
अर्को महिना मालागामा हुने डेविस कप ३८ वर्षीय खेलाडीको अन्तिम प्रतियोगिता हुनेछ र उनले त्यसमा स्पेनको प्रतिनिधित्व गर्दै खेल्नेछन् । चोटका कारण पछिल्लो दुई वर्ष उनी सक्रिय टेनिसबाट टाढै रहे ।
यसैक्रममा गत वर्ष उनले सन् २०२४ नै आफ्नो खेल जीवनको अन्तिम वर्ष हुन सक्ने बताएका थिए । भिडियो सन्देशमा नाडालले भनेका छन्, ‘म सबैलाई भन्न चाहन्छु, म व्यावसायिक टेनिस जीवनबाट संन्यास लिँदैछु । पछिल्ला दुई वर्ष निकै कठिन साबित भए ।’
‘किङ्ग अफ क्ले’ का रूपमा परिचित नाडालले कीर्तिमान १४ पल्ट फ्रेन्च ओपन जितेका छन् ।