काठमाडौँ । प्रेस काउन्सिल नेपालले दशैंको बिदामा समेत सञ्चारमाध्यमको नियमनलाई निरन्तर दिने भएको छ । बुधबार प्रेस विज्ञप्ति जारी गरी काउन्सिलले दशैं बिदाको समयमा आएका उजुरी, गुनासाहरूमा अनुगमन र सुनुवाइ हुने जानकारी गराएको हो ।
सहप्रशासकीय अधिकृत एवं सह प्रवक्ता रामशरण बोहराले जारी गरेको विज्ञप्तिमा काउन्सिलको अनलाइन उजुरी प्रणाली तथा वेबसाइटमा उजुरीका लागि तोकिएको ठेगानामा इमेल गर्न सकिने उल्लेख छ ।
चाडपर्वहरूले राष्ट्रिय एकता, भातृत्व र सामाजिक विकासमा महत्त्वपूर्ण योगदान पुर्याउने उल्लेख गर्दै यसलाई कायम राख्न सञ्चारमाध्यमको अहम् भूमिका हुने काउन्सिलले जनाएको छ ।
चाडपर्वका समयमा पनि सदाझैँ सही सूचना प्रवाह गर्ने सञ्चारकर्मी, पत्रकार एवं आमसञ्चार माध्यमको कर्तव्य र जिम्मेवारी रहेको उल्लेख गर्दै विज्ञप्तिमा गलत, समाजमा उत्तेजना-अफवाह फैलाउने, धार्मिक, सांस्कृतिक एवं सामाजिक सद्भाव बिगार्ने, हिंसा एवं आतंकलाई प्रशय दिने गरी समाचार सामग्री प्रकाशन प्रसारण नगर्न भनिएको छ ।