काठमाडौँ । गुल्मी बलेटक्सारका गंगाराम गौतमलाई काठमाडौँबाट बुटवल पुग्न २४ घण्टा लाग्यो । उनी दाउन्नेमै १० घण्टा रोकिए । सामान्यतया काठमाडौँ–बुटवल ६ देखि ८ घण्टामा पुगिन्छ । तर, यसपटक बाढीपहिरोले सडक बिगारेका कारण धेरै समय लागेको हो । उनीमात्रै होइन यसपटकको दशैँमा घर जाँदा सास्ती पाउने धेरै छन् । कतिपयले त सडककै कारण दशैँमा घर जाने हिम्मत नै गरेनन् । असोज दोस्रो साताको बाढी, पहिरो र डुबानका कारण राजमार्गहरूको अवस्था राम्रो छैन । कतिपय राजमार्गहरू पूर्ण रूपमा बन्द छन् । राजमार्गहरू मात्रै होइन सहायक मार्गहरू पनि राम्रो अवस्थामा छैनन् । धेरै सडक त दुरावस्थामै छन् ।

जोखिम क्षेत्रमा हाइ अर्लटमा प्रहरी
देशभरिको बाटोको अवस्था कस्तो छ भनेर नेपाल प्रहरीले नियमित रुपमा सूचना प्रवाह गरिरहेको छ । साथै प्रहरीलाई आ–आफ्नो लोकेसनमा हाई अलर्टमा राखिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
प्रहरीको तथ्यांक अनुसार कान्तिलोक पथ, बिपी राजमार्ग, बाह्रबिसे–तातोपानी सडक, रामेछाप र सिन्धुली (खुर्कोट) सडक, बझाङस्थित जयपृथ्वी राजमार्ग पूर्णरुपमा बन्द छन् । ललितपुरस्थित लेले– टिकाभैरव जाने बाटो एकतर्फी सुचारुमा सुचारु भएको छ । तेह्रथुमस्थित मध्य पहाडी लोकमार्ग, धादिङस्थित पृथ्वी लोकमार्ग र अरनिको राजमार्ग पनि एकतर्फी सुचारु छ ।
भिमफेदी–कुलेखानी–फाखेल–काठमाडौँ सडक, सिस्नेरी दक्षिणकाली सडक, सिन्धुलीस्थिति मदन भण्डारी राजमार्ग पूर्णरुपमा अवरुद्ध छन् । पूर्वपश्चिम राजमार्ग, मुग्लिङ–काठमाडौँ सडक सुचारु छन् ।


विशेष परिस्थितिमा सरकारले उद्धारका लागि हेलिकप्टरको समेत प्रयोग गरेको थियो । सवारीसाधन जान नमिल्ने स्थानमा पैदल पुगेर काम गरिएको थियो ।
वर्षाको कारण बिग्रिएका सडक सुचारु गराउन मुख्य चुनौती देखिएको छ । नेपाल प्रहरीका अनुसार निर्माणाधीन सडक समयमा सम्पन्न नहुँदा नागरिकले बढी सास्ती भोग्नु परेको हो । अर्कोतर्फ निर्माणाधीन सडकमा दुर्घटनाको सम्भावना पनि त्यत्तिकै हुन्छ ।
यसैलाई मध्यनजर गर्दै प्रहरीले सडकको अवस्था बुझेर मात्र लामो यात्रामा निस्कन सबैमा अनुरोध गरेको छ । वर्षाका कारण विभिन्न स्थानमा बाढी तथा पहिरोले सडक अवरुद्ध रहेको र प्रहरी परिचालन गरी बाटो खुलाउने प्रयास भइरहेकोले लामो यात्रामा निस्किनु भन्दा पहिला सडकको अवस्था बुझेर मात्र यात्रा गर्न प्रहरीले अनुरोध गरेको हो ।
‘प्रहरी कन्ट्रोलको १०० नम्बर, विपद् डेक्सको ९८५१२८५६३५ नम्बर, नजिकको वा सम्बन्धित जिल्लाको जिल्ला प्रहरी कार्यालयमा फोन गरेर पनि सडकको अवस्था बुझ्न सकिन्छ’, प्रहरी नायब महानिरीक्षक एवं प्रवक्ता दान बहादुर कार्की भने, ‘सडकको अवस्था बुझेर मात्र यात्रा गर्न अनुरोध छ ।’
यसै गरी दशैँलाई लक्षित गरी प्रहरीले यात्रु सहायता कक्ष स्थापना गरेको छ । सवारीसाधनले साबिक भाडादर भन्दा बढी भाडा लिएको गुनासो आएपछि सहायता कक्ष स्थापना भएको हो । बढी भाडा लिएमा नजिकैको टाफिक प्रहरी कार्यालय वा सहायता कक्ष तथा हटलाइन नम्बर १०३ मा सम्पर्क गर्न सकिने प्रहरीले जनाएको छ ।
वैकल्पिक मार्ग र अस्थायी ट्र्याक
असोज दोस्रो साताको बाढी र पहिरोले २३ वटा राजमार्गहरूको करिब ८ सय स्थानमा सडक अवरुद्ध थियो । अहिले अवरुद्ध सडक खुलाउने कार्य भइरहेको सडक विभागले जनाएको छ ।
मुख्य मार्ग अवरुद्ध भएको स्थानमा वैकल्पिक मार्ग खोल्ने काम भएको छ । कुन मार्गको सट्टा कुन मार्ग प्रयोग गर्न सकिन्छ भन्ने बारेमा विभागले स्थानीय प्रशासनलाई जानकारी गराएको छ ।
बिपी राजमार्ग, कान्तिलोक पथ र पुष्पलाल मार्ग पूर्णरुपमा बन्द रहेको सडक विभाग महानिर्देशक ई. रामहरि पोखरेलले जानकारी दिए । उनका अनुसार बिपी राजमार्ग खुलाउन अझै एक साता लाग्नेछ । कान्तिलोक पथ मंगलबारसम्म खुलाउने गरी काम भइरहेको पोखरेलले बताए । बिपी राजमार्ग पूर्णरुपमा अवरुद्ध भएपछि काभ्रे र रामेछापका वैकल्पिक मार्गहरूको व्यवस्था गरिएको छ ।
अहिले अस्थायी रूपमा यातायात चलाउन मिल्ने गरी काम भइरहेको छ । अवरुद्ध सडक खुलाउन ट्र्याक खुलाउन मात्रै करिब दुई अर्ब रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ ।


सडकहरू पुरानै अवस्थामा ल्याउन डेढदेखि दुई वर्षसम्म लाग्ने सक्ने महानिर्देशक पोखरेलले बताए । उनका अनुसार बाढी पहिरोले पुर्याएका सडक मर्मतका लागि २० खर्ब भन्दा बढी खर्च लाग्ने छ । अहिले अनुगमन र अध्ययनको काम भइरहेको छ ।
अत्याधिक वर्षाका कारणले रेड जोनमा परेका सडक खण्ड तथा सडकहरूमा हेभि ईक्युपमेन्ट तैनाथ राखिएको छ । अवरुद्ध सडक खुलाउने सम्बन्धमा स्थानीय तहले पनि आफूसँग भएका हेभि ईक्युपमेन्ट प्रयोग गरी बाटो खुलाउन तथा आवश्यक उद्धार कार्यमा सहयोग गरेको यातायात व्यवस्था विभागले जनाएको छ ।
काठमाडौँबाट छुट्ने यात्रुवाहक बसहरू काठमाडौँ-नारायणगढ सडक खण्डको अवस्थालाई मध्यनजर गर्दै उज्यालो समयमै नारायणगढ पुग्ने गरी समय व्यवस्थापन गरिएको यातायात व्यवस्था विभागका निर्देशक एवं प्रवक्ता ईश्वरी दत्त पनेरुले जानकारी दिए । यसै गरी वैकल्पिक मार्गहरूको पहिचान गरी ठूला सवारी साधन चल्ने र साना सवारी साधन चल्ने प्राथमिकताका बाटोहरू छनौट गरी वैकल्पिक मार्गहरूमा सवारी सञ्चालन गरिएको उनको भनाइ छ । ‘सवारीसाधनमा अत्यावश्यकीय प्राथमिक स्वास्थ्य उपचारका सामाग्री, पिउने पानी तथा अत्यावश्यक अवस्थामा खान मिल्ने खानेकुरा राखेर मात्र सवारी सञ्चालन गर्न यातायात व्यवसायीलाई अनुरोध गरेका छौँ’, उनले भने ।
अवरुद्ध सडक सुचारु गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र सडक विभागसँग समन्वय भइ रहेको गृह मन्त्रालयले जनाएको छ । ‘स्थानीयस्तरमा जिल्ला विपद् व्यवस्थापन समितिहरू, प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायले तत् निकायसँग समन्वय र सहकार्यमा काम भइरहेको छ’, गृह मन्त्रालय सहसचिव एवं प्रवक्ता ऋषिराम तिवारीले भने, ‘नेपाली सेनासँग पनि समन्वय गरेर अवरुद्ध सडक छिटो खुलाउने गरी काम भइरहेको छ ।’

नेपाली सेनाले बेलिब्रिज र फड्के निर्माणको कार्य गरिरहेको छ । भू-बनोटका कारण उपकरण तथा सामग्री पुर्याउन पनि अप्ठ्यारो छ ।
सचेत भएर यात्रा गर्नुस्
दशैँका कारण मानिसहरूको आवतजावत बढेको छ । दसैँ नजिकिएसँगै काठमाडौँबाट जन्मथलो जानेहरूको मुख्य नाकामा घुइँचो छ । यातायात व्यवसायी तथा सरोकारवालाहरूले बाध्यात्मक अवस्थामा बाहेक अहिले आवतजावत नगर्न सुझाएका छन् ।
बाटोको कारणले यात्राको समय पनि लम्बिएको छ । काठमाडौँबाट छुटेका सवारीसाधन गन्तव्यमा पुगेर फर्किन समय लागेको छ । काठमाडौँबाट पोखरातर्फ जाने बाटो सहज हुँदै गएपनि काठमाडौँ–नारायणगढ, नारायणगढ–बुटवल सडकखण्डा भने त्यति सहज छैन ।
‘पहिरो पन्छाउँदै यातायात सञ्चालन गर्ने गरिएको छ । दाउन्नेमा धराप नै छ । त्यो कुनै बेला पनि भासिन सक्छ’, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजयबहादुर स्वाँर भन्छन्, ‘यात्रा कष्टकर भएपनि घर जान रोकिएको अवस्था छैन । बाटोको अवस्थाका कारण सबैलाई सचेत भएर यात्रा गर्न अनुरोध गरेका छौँ ।’

नारिकलाई सुरक्षित रूपमा गन्तव्यमा पुर्याउन रिफ्रेस सेन्टरको व्यवस्था गरिएको छ । काठमाडौँबाट छुट्ने बेलामा पनि सवारीसाधनको चेकजाँच गर्ने गरिएको अध्यक्ष रुवाँरले बताए । सडक पूर्वाधार नै राम्रो नभएपछि यातायात व्यवसायीले ठूलै चुनौतीको सामना गर्नु परेको छ । स्वाँरका अनुसार बाटोको कारण सवारीसाधनमा असर पर्ने र क्षति हुने गरेको छ ।
विपद्को आंकलन नै नगरी संरचना निर्माण
बाढीपहिरोबाट २१ जिल्लाहरू प्रभावित भए । जसमध्ये काभ्रेपलाञ्चोक, ललितपुर, धादिङ्, काठमाडौँ, सिन्धुपाल्चोक, सिन्धुली र मकवानपुर जिल्ला अति प्रभावित थिए ।
भौतिक क्षतिमा खानेपानीका संरचनामा रु. ३ अर्ब ५५ करोड, सडक संरचनामा रु. २ अर्ब ५२ करोड, ऊर्जाका पूर्वाधारमा रु. ४ अर्ब र सिँचाइ पूर्वाधारतर्फ रु. १ अर्बको क्षति भएको सरकारको प्रारम्भिक अनुमान छ ।

ठेक्कापट्टामा कमिसन र सस्तोमा सडक निर्माण गर्दा गुणस्तरीय सडक नबनेकै कारण प्रत्येक वर्ष नागरिकले यात्रा गर्दा सास्ती खेप्नुपर्ने स्थिति आइरहेको छ । सडक निर्माण गर्दा कम खर्चमा कमसल संरचना बनाएपछि क्षति बढी हुनु स्वभाविक नै हो ।
‘पूर्वाधार निर्माण गर्दा कति लगानी गर्ने भन्ने मुख्य प्रश्न हो । बाढी पहिरो थेग्न सक्ने गरी सडक निर्माण गर्दा लगानी बढी लाग्छ । लगानी गर्न हामीसँग स्रोत पनि कम छ’, यातायात विज्ञ आशिष गजुरेल भन्छन्, ‘बाटो बनाउँदा ट्र्याक खोल्ने र पीच गर्ने भन्दा बढी लगानी ढुंगामाटो खस्न नदिन प्रोटेक्सन वाल/रिटेन्सन वालमा गर्नुपर्छ ।’
नेपालमा जग्गाको प्रयोग सम्बन्धी योजना नै छैन । भोलिको सम्भावित क्षतिको आंकलन गरेर संरचना बनाउने पनि गरिँदैन । जसका कारण बाढीले बगाउने, खोलाले कटान गर्ने र पहिरोले पुर्ने गरेका घटनाहरू दोहोरी रहन्छन् ।
नदी किनारका सडक कति फोर्स पानी थेग्न सक्ने गरी निर्माण गर्ने भन्ने विषयमा पहिले नै अध्ययन हुनुपर्छ र सोही अनुसार सडक निर्माण गर्नुपर्छ । ‘पूर्वाधारको माग बढी छ । स्रोत कम छ । यसकारण पनि हामी विकसित राष्ट्रले जस्तो संरचना बनाउन सक्दैनौँ’, गजुरेलले भने, ‘सडक बनाउन, ट्र्याक खोल्न जसरी हामी कन्जुस्याइँ गर्दैनौँ, त्यसैगरी रिटेन्सन बालाहरू, रोड सेफ्टी व्यारियरहरु राख्न पनि कन्जुस्याइँ नगरौँ ।’
(तस्बिर : रासस)