काठमाडौँ । एभरेस्ट महिला भलिबल लिग अन्तर्गत आजको खेलमा ललितपुर क्विन्सले चितवन शक्तिलाई पराजित गरेको छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा भएको खेलमा ललितपुरले चितवनलाई ३-१ सेटले पराजित गर्दै विजयी भएको हो । यस जितसँगै ललितपुरको फाइनल पुग्ने सम्भावना बलियो बनेको छ । खेलमा पहिलो सेट १९-२५ ले गुमाएको ललितपुरले त्यसपछिका तीन सेट आफ्नो पक्षमा पार्यो । ललितपुरले चितवनमाथि दोस्रो सेट २५-२१, तेस्रो सेट २५-१६, तथा अन्तिम सेट २५-१९ ले आफ्नो पक्षमा पार्यो।
यस जितसँगै पाँच खेलमा १० अङ्क जोडेको ललितपुर दोस्रो स्थानमा उक्लिएको छ । अब लिग चरणको अन्तिम खेलमा कर्णाली यसभिएसले काठमाडौँ स्पाइकर्सलाई सोझो सेटमा पराजित गरे ललितपुर फाइनल पुग्नेछ ।
यसअघि काठमाडौँ र मधेस युनाइटेडलाई समान ३-१ को सेटमा हराएको ललितपुर कर्णालीसँग ३-० तथा गण्डकीसँग ३-२ को सेटमा पराजित भएको थियो । हारसँगै पाँच खेलमा सात अङ्क जोडेको चितवनले चौथो स्थानमा रहेर लिग अन्त्य गरेको छ । यसअघि गण्डकी र मधेशलाई समान ३-१ को सेटमा हराएको चितवन काठमाडौँसँग ३-१ तथा कर्णालीसँग ३-२ को सेटमा पराजित भएको थियो ।
चितवन शक्ति र ललितपुर क्विन्सको खेल दिउँसो ३ः४५ बजे हुने तय भएको थियो तर ट्यालेन्ट हन्टबाट कर्णाली एसभिएस, गण्डकी थन्डर्स र काठमाडौँ स्पाइकर्सले नियम विपरीत खेलाडी छनोट गरेको भन्दै चितवन र ललितपुर कोर्टमा उत्रिन अस्वीकार गरेपछि खेल निर्धारित समयभन्दा ढिलो सञ्चालन भएको थियो ।
कोर्टमा उत्रिन अस्वीकार गरेपछि आयोजक इन्फिनिटी ड्रिम्सले दुवै टोलीका व्यवस्थापक, प्रशिक्षक र कप्तानसँग छलफल गरेपछि खेल सञ्चालन भएको थियो । काठमाडौँले ट्यालेन्ट हन्टबाट रितिका भट्ट र कर्णालीले सितासेन ठकुरीलाई छनोट गरेको थियो । तर यी दुवै खेलाडीले यसअघि नै राष्ट्रिय स्तरको प्रतियोगिता खेलिसकेको भन्दै चितवनले आपत्ति जनाएको थियो ।