ताप्लेजुङ । पाँचथरको हेवाखोलास्थित बेलिब्रिज बाढीले बगाएपछि ताप्लेजुङको आवागमन ठप्प भएको छ । आवागमन रोकिएपछि वैकल्पिक मार्गको खोजी सुरु गरिएको छ ।
वैकल्पिक मार्गको रूपमा फुङलिङ-बहानन्दे-दोभान-हाङपाङ हुँदै तेह्रथुमको आठराई सङ्क्रान्तिबाट मध्यपहाडी राजमार्ग प्रयोग गरेर तराई निस्कने योजना अघि बढाइएको छ । वैकल्पिक मार्ग सञ्चालन गर्न ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका अध्यक्ष दीपेन्द्र पोमू र तेह्रथुमको आठराई गाउँपालिका अध्यक्ष दिलकुमार पाहिमलिम्बूले पहल गरेका छन् ।
आठराई त्रिवेणी गाउँपालिकाका अध्यक्ष पोमूले बाटोको अवस्था ठिकै रहेको र ठाउँ-ठाउँमा मर्मत गर्नुपर्ने भए पनि दुवै गाउँपालिकाले सहयोग गरी यातायात सञ्चालन गर्न सकिने बताए। आठराई गाउँपालिकाले तेह्रथुमतर्फको भागको मर्मत सुरु गरेको छ भने आठराई त्रिवेणीले ताप्लेजुङतर्फको बाटो मर्मत गरिरहेको छ ।