काठमाडौँ । सिधा कुरा डटकमका प्रकाशक युवराज कँडेल, कार्यकारी सम्पादक नवीन ढुङ्गाना र राजकुमार तिमिल्सिनालाई कैद सजाय तोकिएको छ । सीधा कुरा डटकमको प्रसारण गरेको ‘डार्क फायल’ लाई अदालतले नै फेक ठहरसँगै अदालतको अवहेलना गरेको अभियोगमा सर्वोच्च अदालतले सीधा कुरा डटकमका प्रकाशक कँडेल, कार्यकारी सम्पादक ढुङ्गाना र झुट्टा र काल्पनिक सामाग्री उत्पादन गरी प्रसारणका लागि दिने भनिएका तिमिल्सिना कैदको सजाय सुनाएको हो ।
आइतबार प्रधानन्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठ, न्यायाधीशहरू प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल, प्रकाशकुमार ढुङ्गाना, हरिप्रसाद फुयाँल, नहकुल सुवेदी, विनोद शर्मा, महेश शर्मा पौडेल र बालकृष्ण ढकालको बृहत् पूर्ण इजलासले प्रकाशक कँडेल, कार्यकारी सम्पादक ढुङ्गानालाई ३–३ महिनाको कैद सजाय सुनाएको छ भने तिमिल्सिनालाई ६ महिना कैद सजाय सुनाएको छ ।
तर अदालतमा उपस्थित भई निशर्त क्षमा याचना तथा पुनः त्यस्तो कार्य नदोहोर्याउने लिखित प्रतिबद्धता व्यक्त गरेमा ठहरेको कैदमध्ये सात दिन मात्र थुनामा राखी बाँकी कैद तत्काल निलम्बन गरिदिनेसमेत जनाएको छ । क्षमा याचना नगरेमा वा पुनः त्यस्तो कार्य नदोहोर्याउने प्रतिबद्धता व्यक्त नगरेमा तोकिएको पुरै सजाय भोग्नुपर्ने साथै भविष्यमा अन्य कुनै मुद्दाबाट अदालतको अवहेलनाको कसुर ठहर भएमा हाल निलम्बित कैदसमेत थपी कार्यान्वयन गर्ने भनिएको छ ।
त्यसैगरी सीधा कुरा डटकमलाई ५ हजार रुपैयाँ जरिवाना गर्ने फैसला भएको छ । तर क्षमा याचनासहित भुल सुधार प्रकाशन वा प्रसारण गरी अदालतलाई जानकारी गराएको हकमा सो जरिवानाको अभिलेखसमेत नरहने गरी लगत कट्टा गरिने आदेशमा उल्लेख छ ।