कुरो अलि पुरानो जमानाको हो । सहरमा हुर्के बढेका एक जना अजिब नाम गरेका विद्धान दुर्गम स्थानको प्रशासकमा नियुक्त भएछन् । शहरमा हुर्के बढेकोले झुक्किएर बाहेक अर्ग्यानिक तरकारी तथा शुद्ध दुग्धजन्य पदार्थ उपभोग गर्ने अवसर पाएका थिएनन् । त्यसैले शुद्ध खानेकुराको स्वाद तथा पाचन क्षमताको ज्ञान उनमा कम थियो अर्थात् निशंकोच भन्नु पर्दा थिएन नै ।
नियुक्तिकै आधारमा मध्य पहाडी जिल्लामा उनको पदस्थापन भयो । प्रशासक अजिबले त्यहाँ गएपश्चात् दूध तथा खाद्यान्न गाउँ घरमै उत्पादित नै खाने मनसाय व्यक्त गरे । कार्यालयमा कार्यरत कर्मचारीको सल्लाह अनुसार सहज नामक कर्मचारीको घरमा धेरै भैँसी भएकोले त्यहाँबाट दूध ल्याउन उपयुक्त हुने राय सुझाए । सोही बमोजिम सहजले दूध ल्याउने जिम्मेवारी पाए ।
कर्मचारी सहजले आफ्नो प्रशासकलाई दूध ल्याउन थाले । कहिले पनि शुद्ध दूध खान नपाएका प्रशासक अजिबको पेटले उक्त दूध पचाउन सकेन । कहिलेकाहीँ पखाला समेत लाग्यो । उनले दूध ल्याउने कर्मचारी सहजलाई दूध शुद्ध नभएको हुँदा दूधको गुणस्तर सुधार गर्न भने । कर्मचारी सहजले आफूले दूधमा बाल्टी पखालेको पानी बाहेक नराखेको र सो कुरा पनि कसरी थाहा पाए होला भनेर छक्क परे र मनमनै प्रशासक अजिबको क्षमतालाई सम्मान गरे। सहजले अब दूधको गुणस्तर अझै सुधार्ने बचन अजिबलाई दिए।
प्रशासक अजिबसँग कुरा भएको दोस्रो दिन देखि नै कर्मचारी सहजले दूध दुहुनासाथ प्रशासकको निवासमा पुर्याउन थाले । दूध पूरा पानी रहित भएको थियो। यस प्रकार थप शुद्ध दूधको सेवनबाट प्रशासक अजिबको पाचन क्षमतामा कठिनाई बढ्यो । प्रशासक बिरामी नै परे । प्रशासक अजिब रिसाउँदै सहजलाई दूध शुद्ध ल्याउने र यसो नभएमा कारबाही गर्ने भने ।
कर्मचारी डराउँदै प्रशासक अजिब समक्ष हजुरलाई दूध शुद्ध नभएको कसरी जानकारी भयो भनेर सोधे । प्रशासक अजिबले भने म शहरमा हुर्केको र मैले सधैँ घरमा रहँदा खाएको शुद्ध दूधले कुनै असर गर्दैनथ्यो तर मैले तिमीले ल्याएको दूध पिउन थालेपछि पेटमा निकै समस्या आयो र दूध पचेन । कर्मचारी सहजले प्रशासक अजिबको मनसाय बुझे र भने ‘म हजुरको लागि भोलिदेखि शुद्ध दूध ल्याउने छु।’ उक्त कर्मचारीले भोलिपल्टबाट आधा दूध र पानी मिसाएर दूध ल्यायो, प्रशासकलाई उक्त दूधले कुनै असर गरेन । अतः प्रशासक अजिबले त्यही दूधलाई शुद्ध मानेर नियमित रूपमा खाए भने शुद्ध दूध ल्याएकोमा कर्मचारी सहजलाई धन्यवाद समेत दिए।
यति बेला हाम्रो निजामती प्रशासन पनि यही धारमा रहेको छ। कुनै कर्मचारीले बिना आर्थिक लाभ कुनै काम गर्दा नपत्याउने चलन रहेको छ । कर्मचारी क्षेत्रमा माथि उल्लेख गरेजस्तै शुद्ध दूध ल्याउने खालका ईमान्दार नभएका होइनन् तर त्यस्ता कर्मचारीलाई असहयोगी मानेर दुःख दिने तथा तिनीहरूको हुर्मत लिने परम्परा विकास हुँदै आएको छ।
तोकिएको जिम्मेवारी पूरा गर्ने यस प्रकारका कर्मचारीहरू कामलाई प्राथमिकता मात्र दिने भएकाले सेवा सुविधामा पछाडि पर्ने गरेका छन् । यिनीहरू अग्रिम रूपमा सम्झौता गरेर सरुवा लिन तयार हुन्नन् र यस प्रकारका कर्मचारी कतिपय अवस्थामा असहयोगी हुनुपर्ने अवस्था आएको देखिन्छ।
राजनैतिक नेतृत्वले समयमै यसतर्फ नसोच्ने हो भने यस अवस्थामा सुशासन कायम हुने तथा सेवा प्रवाहमा सहजता हुनेमा आम नागरिकमा शङ्का उत्पन्न हुनु अश्वभाविक होइन । अतः समयमै सकारात्मक सोचेर सबैले सहभागितामूलक तवरबाट कार्य गरी जनअपेक्षा पूर्ति गर्नु राजनैतिक नेतृत्व र प्रशासनिक नेतृत्वको जिम्मेवारी हो। राजनैतिक नेतृत्वले आफ्नो पेट अनुसार होइन, शुद्धता परीक्षण प्रविधिमार्फत परीक्षण गर्नु आवश्यक छ।
कतै हाम्रो प्रणालीले प्रशासक अजिबले नियमित रूपमा खाए जस्तै शुद्ध दूध खोजेको त होइन ? सोच्ने बेला आएको छ। यसले नागरिकले सोचेको र चाहेको सुशासन प्राप्त होला र ?