काठमाडौँ । नेपाल बार एसोसिएसनले अवकाशमा जान लागेका प्रधानन्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठविरुद्ध विरोध गरेको छ । श्रेष्ठलाई नयाँ न्यायाधीश सिफारिस गर्न खोजेपछि बारका वकिलहरू कालो ब्यानर नै बनाएर विरोधमा उत्रिएका छन् ।
आगामी असोज २० गते अवकाशमा जान लागेका प्रधानन्यायाधीश श्रेष्ठले बुधबार दिउँसो न्याय परिषद्को बैठक राखेर न्यायाधीश सिफारिस गर्न खोजेपछि बारले आन्दोलन थालेको एक वकिलले प्रशासनलाई जानकारी दिए ।

यसअघि आजै बारका अध्यक्ष गोपालकृष्ण घिमिरेले सामाजिक सञ्जालमा भिडियो सन्देश जारी गर्दै अवकाशमा जान लागेका प्रधानन्यायाधीश श्रेष्ठले गैर संवैधानिक नियमावलीको आधारमा न्यायाधीश नियुक्ति गर्न लागेको भन्दै आपत्ति जनाएका थिए। त्यसपछि उनकै आह्वानमा वकिलहरू सम्बन्धित इकाइ परिसरमा कालो ब्यानरसहित विरोधमा उत्रिएका हुन् ।
वकिलहरूले न्याय परिषद्को नियमावलीमा गरिएका गैर संवैधानिक र गैर न्यायिक संशोधनहरू तत्काल खारेज गर्न माग गरेका छन् । त्यसैगरि अदालतमा व्याप्त भ्रष्टाचार, विकृति र विसङ्गतिको अन्त्य गरी न्यायिक स्वच्छता कायम गर्नुपर्ने अर्को माग छ ।
