रौतहट । रौतहटको राजपुर नगरपालिका अन्तर्गत वडा नं. ४ मा हैजा देखिएपछि जिल्ला प्रशासन कार्यालयले आवतजावतमा रोक लगाएको छ ।
स्वास्थ्य शाखा प्रमुखको अनुमति बेगर स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सरसफाइकर्मी र अत्यावश्यक एवं अत्यन्त जरुरी काममा बाहेक कुनै पनि व्यक्तिलाई हिँडडुल गर्न र एक अर्को घर वा बस्तीमा आवतजावत गर्न रोक लगाइएको हो । प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले आइतबार आदेश जारी गर्दै आवतजावतमा रोक लगाइएको जानकारी दिए ।
हैजा रोकथाम र नियन्त्रण एवं अन्य व्यक्ति र समुदाय/क्षेत्रमा फैलिन सक्ने सम्भावना देखिएकोले प्रभावित क्षेत्रमा मानिसहरूको आवतजावतलगायतका गतिविधिमा रोक लगाइएको हो । प्रजिअको आदेशमा भनिएको छ, ‘अत्यावश्यक सेवा बाहेकका सवारी साधनहरूको आवतजावतमा नियन्त्रण गर्ने, उक्त क्षेत्रमा माछा, मासु ओसारपसार र बिक्री वितरणमा नियन्त्रण गर्ने, सम्बन्धित स्थानीय तहको स्वास्थ्य शाखाबाट जारी गरिएका अन्य आदेश र सर्तहरूको कार्यान्वयन गर्ने गराउने ।’
राजपुर नगरपालिका वडा नं. ४ जोवैर चौकदेखि मदनी चौक, शेख अब्दुल्लाहको खलिहान देखि डा. नुरुल होदाको घरसम्मको वरिपरिको घरधुरी क्षेत्रमा रोक लगाइएको आदेशमा उल्लेख छ ।
