काठमाडौँ । सरकारले पोखरा र भैरहवामा रहेका अन्तर्राष्ट्रिय विमानस्थललाई चलायमान बनाउने योजना बनाए पनि सफल हुन सकिरहेको छैन ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान भर्ने गरी विभिन्न सुविधासहित सरकारले योजना बनाएको थियो । सरकारले यी दुई विमानस्थल सञ्चालन गर्न उडान अवतरण, एयर नेभेसेसन, ग्राउन्ड ह्याण्डलिङसहित सबैजसो शुल्क छुट दिएको छ । तर, पोखराका लागि उडान प्रस्ताव नै आएको छैन भने गौतमबुद्धको लागि आएको प्रस्ताव पनि अस्वीकृत भएको छ ।
गौतमबुद्ध विमानस्थल भैरहवाका लागि कुवेतको बजेट एयरलाइन्स जजिराले गरेको प्रस्ताव अस्वीकृत भएको छ । उडान अवतरणमा सम्पूर्ण छुट पाउँदा पाउँदै पनि जजिराले राति उडान गर्ने प्रस्ताव गरेपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले उक्त प्रस्ताव अस्वीकार गरेको हो ।
बिहान ६ बजेदेखि राति १२ बजेसम्म खुला हुने गौतमबुद्ध विमानस्थलमा जजिराले उक्त समय भन्दा फरक समयमा उडान प्रस्ताव गरेको थियो । जजिराले विमानस्थलमा राति २ बजे आउने र ३ बजे फर्कने गरी गरेको प्रस्तावलाई प्राधिकरणले अनुकूल समय नभएको भन्दै अस्वीकार गरेको हो ।
प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार बिहान ६ बजेदेखि राति १२ बजेसम्मको समयमा उडान गर्ने गरी जजिरालाई प्रस्ताव पेस गर्न भनिएको छ । प्राधिकरणको आग्रह प्रति जजिरा सकारात्मक रहेको उनले बताए । जजिराले उडान समय तालिका परिवर्तन गर्न सक्ने सम्भावना रहेको भुलले बताए ।
भैरहवामा राति २ बजे उडान अनुमति दिँदा रात्रि सिफ्टको लागि अतिरिक्त कर्मचारी राख्नुपर्ने, भन्सार, प्रहरी लगायतको व्यवस्था गर्दा खर्च करिब ५० देखि ६० लाख रुपैयाँसम्म थप गर्नुपर्ने प्राधिकरणको भनाइ छ । दिउँसोको समयमा कुनै अन्तर्राष्ट्रिय उडान नभएर कर्मचारीहरू बसी रहनुपर्ने तर रातिको उडान सेवाका लागि थप व्यवस्था गर्न तत्काल सम्भव नदेखिएको प्राधिकरणले जनाएको छ ।