काठमाडौँ । शब्द, दृश्य, चित्र र उत्पादनका माध्यमबाट संघीय राजधानीलाई कर्णाली जोड्न सुरु गरिएको ‘कनेक्टिङ कर्णाली’ अभियानअन्तगर्त यस पटक मुगु जिल्लाको प्रदर्शनी सुरु गरिएको छ ।

आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा रहेको मुगु जिल्ला झल्कने गरी काठमाडौँमा तस्बिर, भिडियो, डोल्पा जिल्लामा उत्पादित सामग्रीहरू प्रदर्शनी सुरु गरिएको हो । शनिवार प्रदर्शनीको अवलोकन गर्दै पूर्वउपप्रधानमन्त्री तथा नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्काले यो तस्बिर, भिडियो प्रदर्शनीले कर्णाली प्रदेशको प्रवर्द्धन गर्न सहयोग पुग्ने बताए । उनले कर्णाली पर्यटकीय हिसाबले मात्र नभएर प्राकृतिक रूपले पनि अथाह सम्भावना बोकेको प्रदेश भएको बताए ।

प्रदर्शनीमा जिल्लामा अवस्थित धार्मिक, पुरातात्त्विक, प्राकृतिक सुन्दरतासहित मुगु जिल्ला झल्कने गरी ३० वटा तस्बिरका साथै कर्णाली झल्कने भिडियो प्रदर्शनी र उत्पादित सामाग्री प्रदर्शनीमा राखिएको आयोजकले जनाएको छ ।

आन्तरिक तथा बाह्य पर्यटकको प्रमुख रोजाइमध्ये एक हो, मुगु जिल्ला । मुख्य गरी मुगुमा रारा तालको अवलोकनका लागि पर्यटक पुग्ने गर्छन् ।रारा ताल रहेको त्यही मुगु जिल्ला झल्कने गरी काठमाडौँमा तस्बिर, भिडियोका साथै कर्णालीमा उत्पादित सामग्रीहरू प्रदर्शन भइरहेको आयोजक तथा फोटो पत्रकार भरतबन्धु थापाले जानकारी दिए ।

मनघरी फाउन्डेसनको आयोजनामा शनिवार नयाँ बानेश्वरको उमोजा क्याफेमा सुरु भएको प्रदर्शन भोली सोमबारसम्म चल्नेछ ।


