काठमाडौँ । कथा वाचन तथा धार्मिक अनुष्ठानका लागि विस्तृत आचारसंहिता सार्वजनिक गरिएको छ । लामो गृहकार्यपछि राष्ट्रिय कथा व्यास समाजले धार्मिक कथा वाचनमा विकृति-विसंगति बढ्न थालेपछि यसलाई मर्यादित बनाउन पहिलो पटक आचारसंहिता ल्याएको हो ।
हिन्दु धर्मशास्त्रका गुरुहरूको साझा संस्था राष्ट्रिय कथा व्यास समाजले पारित गरेको आचारसंहितामा धार्मिक अनुष्ठान सम्बन्धी २० वटा, मुहुर्तसम्वन्धी ५ वटा, सत्संगात्मक प्रवचनसम्बन्धी ८ वटा, संस्थासम्बन्धी पाँच वटा र विविध ६ वटा बुँदाहरू उल्लेख छन् । यो आचार संहिता कथा व्यास समाजले पारित गरेको दिनदेखि नै लागू हुनेछ ।
हालै पशुपति मन्दिरमा आयोजित कोटीहोम कथा वाचक र विधि विधानबारे थुप्रै विवादहरू उब्जेका थिए । मुख्य आयोजक विजय कृष्णमुर्ति नै सबैभन्दा बढी विवादमा परे । प्रहरीले उनलाई धरपकड प्रयाससमेत गरेको थियो । यसबाट धार्मिक अनुष्ठान तथा कथा वाचनमा आचारसंहिताको आवश्यकता महसुस भएको थियो ।
पछिल्लो समय पर्याप्त शास्त्रीय अध्ययन र योग्यताविना जो पनि कथा वाचक बन्ने र कथा वाचनका क्रममा मनगढन्ते गफ दिने प्रवृत्ति बढेपछि समाजले तदारुकता देखाएको एक सदस्यले बताएका छन् ।