काठमाडौँ। सिरहाको नवराजपुर गाउँपालिकामा भएको एउटै भ्रष्टाचार काण्डमा तत्कालीन अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत र उपभोक्ता समितिसहितका १४ जना दोषी ठहर भएका छन् ।
विद्यालयको अपुरो भवन निर्माण भएको भनेर झुठो विवरणको आधारमा भुक्तानी दिएको/लिएको मुद्दामा तत्कालीन गाउँपालिका अध्यक्ष विश्वमोहन यादव, उपाध्यक्ष शोभाकुमारी यादव, प्रमुख प्रशासकीय अधिकृत अमरेन्द्र कुसियैत, लेखापाल सोमप्रसाद आचार्यसहित १४ जना दोषी ठहर भएका हुन् ।
वडा नम्बर २ स्थित रामजानकी दलित आधारभूत विद्यालयमा आव २०७७/०७८ मा भवन निर्माण गरेको भन्दै १४ लाख ५१ हजार ५५१ रुपैयाँ भुक्तानी गरेको पाइएको छ । तर भवन निर्माण भने गरिएको छैन ।
उक्त विषयमा उजुरी परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गरी भ्रष्टाचार भएको दाबी गर्दै ०८१ जेष्ठ २८ मा विशेष अदालतमा मुद्दा दायर गरेको थियो । सो मुद्दामा विशेष अदालतले आज उनीहरूलाई भ्रष्टाचार गरेको ठहर गर्दै सजाय समेत सुनाएको छ ।
दोषी ठहर भएका यादव नेपाली काँग्रेसकी नेतृ चित्रलेखा यादवको आफ्नै सहोदर भाइ हुन् । तत्कालीन योजना शाखा प्रमुख रमेश निधी, जिन्सी प्रमुख सञ्जय प्रसाद यादव, वडा ४ का अध्यक्ष मदन यादव, वडा ५ का अध्यक्ष मनोज यादव र वडा २ का अध्यक्ष खुशीलाल साहलाई पनि दोषी ठहर गरिएको छ ।
अधिकृत कुसियैत र लेखापाल आचार्य बाहेक उनीहरू सबैलाई ३ महिना कैद र १० हजार जरिवाना तोकेको छ । अधिकृत कुसियैत र लेखापाल आचार्यलाई ३र३ महिना कैद र २ लाख ७ हजार रुपैयाँ जरिवाना हुने फैसला सुनाइएको छ ।
गलत प्राविधिक मुल्यांकन प्रतिवेदन दिएका इन्जिनियर कृष्णा साह र सब(इन्जिनियर सन्तोष कुमार यादव पनि फसेका छन् । दोषी ठहर भएका उनी दुबै जनालाई पनि ३ महिना कैद र १० हजार जरिवाना तोकिएको छ ।
यस्तै उपभोक्ता समितिका अध्यक्ष लक्ष्मीनारायण मुखिया, कोषाध्यक्ष घुरनीदेवी मण्डल र सचिव रामभरोस मुखियालाई पनि दोषी ठहर भएका छन् । उनीहरू झुठा बिल पेस गरेका थिए । उनीहरूलाई ३ महिना कैद सजाय सुनाएको छ ।