काठमाडौँ । आज विश्व आत्महत्या रोकथाम दिवस । ‘आत्महत्या रोकथामबारे संवाद शुरु गरौँ, दृष्टिकोण बदलौँ’ भन्ने दिवसको नारा तय गरिएको छ । विश्व स्वास्थ्य सङ्गठनले पनि आत्महत्यालाई रोकथाम गर्न सकिने समस्याका रूपमा पहिचान गरेको छ ।
विश्वभर प्रतिवर्ष ८ लाखभन्दा धेरै व्यक्तिले आत्महत्या गर्ने गरेको अनुमान छ । विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओका अनुसार कुल आत्महत्याको ७७ प्रतिशत कम र मध्यम आय भएको देशमा हुन्छ । नेपालमा दैनिक १८ देखि २० जनाले आत्महत्या गर्ने गरेको सरकारी तंथ्याक छ ।
आत्महत्या गर्ने सोच बनाएका व्यक्तिले संकेतमार्फत् पूर्व जानकारी दिने हुनाले परिवार वा नजिकका आफन्त तथा साथीले ध्यान दिएर बेलैमा सावधानी अपनाएमा आत्महत्याको जोखिम टार्न सकिने मनोचिकित्सकहरू बताउँछन् ।
कुनै घातक विधि अपनाएर आफूले आफ्नै ज्यान वा प्राण लिनु आत्महत्या हो । घातक विधि भन्नाले विष सेवन गर्नु, हतियार प्रयोग गर्नु, झुन्डिनु आदि पर्दछन् । नेपालमा वर्षेनी यस्ता कारणबाट धेरै मानिसले आत्महत्या गरेका हुन्छन् । आत्महत्या रोकथामका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मानसिक अस्पतालमा ११६६ नम्बरको हटलाइन सेवा सञ्चालनमा ल्याएको छ । तर वर्षेनी आत्महत्याका घट्ना बढ्दो रहेकाले यसको सकारात्मक प्रभाव भने परेको देखिँदैन ।
मानिसहरू किन आत्महत्या गर्छन् ?
मानिसहरूले आत्महत्या गर्ने कारणहरू धेरै छन् । कुनै पनि कारणले अहिलेको अवस्थामा जीवन उपयुक्त लागेन भने मानिस आत्महत्याको सोचमा पुग्छ । आत्महत्या गर्नुको कारण गरिबी, सामाजिक, आर्थिक, पारिवारिक, तनाव र मानसिक रोगले गर्दा पनि मान्छे आत्महत्या गर्ने गर्छन् ।
आत्महत्या गर्न मदत पुर्याउने सबैभन्दा महत्त्वपूर्ण कारणका रूपमा डिप्रेसनलाई लिन सकिन्छ । त्यसैले समयमै डिप्रेसनलाई चिन्न सकेमा धेरै आत्महत्याका घटनाहरू रोक्न सकिन्छ । मन खुसी नहुने, रमाइलो लाग्ने कुराहरूमा पनि मन नलाग्ने र शरीर थकित महसुस हुने डिप्रेसनका प्रमुख लक्षणहरू हुन् ।
डिप्रेसन रोग किन र के कारणले हुन्छ ?
आर्थिक समस्याका कारण डिप्रेसनको समस्या हुन्छ । कोभिडपछिको समयमा मानिसको आम्दानी घट्नु, बैंकको ऋण तिर्न नसक्नु, घर खर्च चलाउन नसक्नु लगायतका कारणले डिप्रेसन भएको पाइन्छ ।
यस्तै पारिवारिक कलह, विभिन्न रोगको शिकार हुनु, सोचेजस्तो गर्न नसक्नु पनि डिप्रेसन हो । डिप्रेसन वंशाणुगत पनि हुने गर्छ । पुरुषको तुलनामा महिलालाई डिप्रेसन दुई गुण भन्दा बढी हुन्छ । डिप्रेसन हुँदा धेरै जसो मानिसले नसा सेवन गर्ने भएकाले नसाको तालमा आएर उसले आत्महत्या गर्छ ।
कुनै मानिसले आत्महत्या गर्दै छ भनेर कसरी थाहा पाउने ?
कसैले आत्महत्या गर्छ की गर्दैन भनेर पक्का भन्न त सकिँदैन तर कहिलेकाहीँ हामीले यस्ता संकेतहरु पाउन सक्छौँ, जसलाई ध्यान दिन सके आत्महत्या गर्नबाट मानिसलाई जोगाउन सक्छौँ । यदि कसैले मलाई मर्न मन लागेको छ वा म आत्महत्या गर्छु भन्छ भने त्यसलाई हल्का रूपमा लिनुहुँदैन । उसलाई कुन समस्याले यस्तो भयो त्यो बुझ्ने कोसिस गर्नुपर्छ ।
कोही परिवारभन्दा अलग बस्न थाल्यो, साना साना कुरामा पनि रिसाउन थाल्यो, रुन थाल्यो भने पनि उसलाई केही समस्या छ भनेर बुझ्न आवश्यक छ । यस्तै कसैले सामाजिक सञ्जाल फेसबुक, टिकटकमा निराशाजनक अभिव्यक्तिहरू राख्छ भने पनि त्यसलाई ध्यान दिनुपर्छ । हालसालै कठिन परिस्थितिबाट गुज्रिएको छ भने त्यस्ता व्यक्तिलाई सान्त्वना दिन आवश्यक छ र त्यस्ता व्यक्तिलाई एक्लै छोड्न हुदैँन् ।
आत्महत्या रोक्न सकिन्छ ?
आत्महत्या पुर्णरुपमा रोक्न सकिन्छ भन्ने त होइन् । तर मानसिक रोगलाई सुरुमै पहिचान गरेर उपचार गर्न सक्यो भने आत्महत्या रोक्न सकिन्छ । सामाजिक रूपमा मानिसलाई सहज तरीकाले बाच्न सक्ने वातावरण बनाउन सकिएमा आत्महत्याका घट्ना कम हुन्छन् ।
बिशेषगरी उपचारमा लागियो भने धेरै मात्रामा आत्महत्या रोक्न सकिन्छ । मानसिक रोग भएका मानिसहरू अस्पताल जान नखोज्ने प्रवृत्ति पनि आत्महत्या वृद्धि हुने एउटा कारण हो । त्यसको लागि नेपालका विभिन्न अस्पतालहरूले इन्टरनेटको प्रयोगबाट डाक्टरसँग भेट गर्न सक्ने प्रविधि भित्र्याएका छन् । यो पनि आत्महत्या कम गर्न सक्ने उपाय हो ।
यस्तै जीवनमा आएका समस्या समाधान गर्न आत्महत्यालाई उपायको रूपमा लिनु हुँदैन । मनोपरामर्श र उपचार गर्यौ भने रोग पनि ठिक हुने र आत्महत्या पनि रोक्न सकिन्छ ।
(ह्याम्स अस्पताल तथा रिदम न्युरो साइक्याट्कि हस्पिटलमा कार्यरत मनोचिकित्सक डा. प्रभाकर पोखरेलसँगको कुराकानीमा आधारित)