काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचारविरुद्ध केही काम गर्न थालेपछि आफू नेतृत्वको सरकार ढालिएको बताएका छन् ।
प्रदेश स्तरीय बैठकका क्रममा सिराहा पुगेका प्रचण्डले कार्यकर्ता भेटघाटका क्रममा भ्रष्टाचारी र भू-माफियाले आफू नेतृत्वको सरकार ढालेका बताए । ‘तपाईँहरूले देखि नै हाल्नुभयो, भ्रष्टाचारविरुद्ध केही गर्न खोज्दा सरकार नै परिवर्तन गर्नेसम्मको खेल भयो’, ‘प्रचण्ड’ले भने ।
ती माफियाहरूले नेपाली काँग्रेस र नेकपा एमालेलाई आफ्नो ठानेर सरकार निर्माण गरेको ‘प्रचण्ड’ले बताए । ‘माओवादी केन्द्रका नेताहरुले बिस्तारै हामीलाई त खत्तमै पार्ने भनेर भ्रष्टाचारी जति डराए’, उनले भने ।
अध्यक्ष ‘प्रचण्ड’ले जनतालाई साथमा लिएर भ्रष्टाचारी र माफियाविरुद्ध देशव्यापी आन्दोलन गर्ने घोषणा समेत गरे ।