भीष्म पर्वका अनुसार महाभारतको युद्ध भूमिमा जिज्ञासु अर्जुनले भगवान् श्रीकृष्णसँग प्रश्नपछि प्रश्न गरेका थिए। यसको जवाफमा एक युगान्तकारी दृष्टिकोण भएको श्रीमद्भागवत गीता नै बन्यो । कवि शिरोमणि लेखनाथ पौड्यालले बुद्धि विनोदमा मनसँग प्रश्नोत्तर गर्नुभएको छ । पूर्वीय संस्कारमा आत्म संवादलाई मानव सुधारको अन्तर्य मानिएको छ । दार्शनिक सुकरातले युवाहरूलाई प्रश्न सोध्न, संवाद गर्न र बहस छेड्न आह्वान गरे । जसै युवा वर्ग तर्क र प्रमाणमा आकर्षित भए, तब शासकको निद्रा हराम भयो।सत्ता विरोधी भएको कारण उनीलाई विष पिउन दिएर मारियो। पश्चिमाहरू विकासको मूल आधार प्रश्न गर्नुलाई मान्दछन्।एक तीतो सत्य यो छ की प्रश्न गर्न धेरै मानिस मन पराउँछन्,तर जवाफ दिन धेरै भन्दा धेरै मानिस मन पराउँदैनन्।
जसै म नारिएर बसेको थिएँ, विद्यालय उमेरकी छोरीले एक साँझ मलाई तीन प्रश्नहरु सोधेकी थिइन् । “हजुरको ड्रेस सेतो सर्ट र नीलो प्यान्ट हो ?” हो मैले भनेँ। “हजुरलाई पैसा कसले दिन्छ ?” सरकारले दिन्छ।“ अफिसमा के काम गर्नुहुन्छ नि ?”सर/म्याडमले भने बमोजिम गर्छु। “ए” भन्दै उनी आफ्नै अभ्यास कार्यमा लागिन्।
सोफामा दोछायाँ परेको थियो।सोही अवस्थामा बसी नानीको प्रश्नसँग म घोत्ली रहेँ।सायद म तन्द्रामा थिएँ । साना उमेरका नानीहरूमा जिज्ञासु स्वभाव हुने गर्दछ।जसरी यिनको जवाफ मैले दिएको छु,त्यसरी नै निजामती कर्मचारीले जवाफ दिनैपर्दछ । प्रश्न गर्ने हक भएकाहरू सार्वभौम हुने गर्दछन् । जबाफदेहिता एक कर्तव्य हो,यसबाट भाग्नु नागरिकप्रतिको बेइमानी हो । कर तिर्नेहरू प्रतिको बेइमानी हो ।
“पोसाक”जातीय परिचयको आधार हो।बहुभाषिक, बहुजातिय र बहुसांस्कृतिक समाजमा यो पहिचानको आधार पनि हो ।काममा खटेका कर्मचारी वा मजदुर वर्गको पोसाकले कामको प्रकृतिसमेत छुट्टयाउन मद्दत गर्दछ।जस्तो खानी/मजदुर वर्गका नीलो पोसाकधारी, कार्यालयमा काम गर्ने सेतो पोसाकधारी र अन्य पोसाकधारी समाजमा देखिएकै छन् ।
राणा शासनका तर सुधारक प्रधानमन्त्री देवसम्शेर जबराले दश पाँचको समयलाई कार्यालय समय निर्धारण गरेकोमा साधुवाद दिन मन लाग्छ।यो एक स्थापित र मानक समय हुन पुगेको छ।यस समयमा सुनसान बाटोमा बटुवा र सडकमा गाडीहरू एकाएक अगाडि बढ्न ठेलमठेल गर्दछन् । अन्य कर्मचारी जस्तै सेतो सर्ट/नीलो प्यान्टमा वा नीलो कुर्ता र हल्का कलेजी सुरुवालमा ठ्याक्कै एउटै समयमा गई फर्किने गर्दछन्,निजामती कर्मचारीहरू ।
पुरुष कर्मचारीका लागि सेतो सर्ट र नीलो प्यान्ट नै छनोट किन भयो होला?महिला कर्मचारीका लागि नीलो कुर्ता र हल्का कलेजी रङ्गको सुरुवाल(नीलो सारी/ब्लाउज)को छनोट किन भयो होला?यी कुराले मनका तर्कहरू बयली खेल्न थाल्छन् ।
सेतो शान्तिको प्रतीक । शान्ति भएपछि भय भएन,हिंसा हुँदैन।सातै रङ्गहरूको समग्र आकृति सेतोमा समाधि हुन्छन्; सेतोभित्र इन्द्रेणी छ र इन्द्रेणीसँगै सेतो छ।सूर्यको प्रकाश सेतो हुन्छ र यसद्वारा वातावरणभित्र रहेका कैयन् विषादयुक्त धूलोका कणहरू मर्न बाध्य हुन्छन्।सेतोको आभा शक्ति त्यहाँसम्म रहेको छ।
सेतो स्वच्छताको प्रतीक मानिन्छ । स्वच्छतामा पारदर्शिता हुने गर्दछ।एक मात्र कालो बुँद सेतो सर्टमा पर्यो भने टाढैबाट देखिन्छ।यस कारण कोही कसैलाई कालो धब्बा मन पर्दैन।सम्मानित सर्वोच्च अदालत भन्छ,उच्च नैतिक चरित्रमा स्वच्छता एक हो।सेतोसँग स्वच्छताको नजिकको सम्बन्ध छ।
हल्का कलेजी रङ्गको कपडामा नीलो सुहाउँछ।बुद्ध धर्ममा कलेजी रङ्गले मानिसको अन्तस्करण जनाउँछ।अन्तस्करण सुख/दुःख, असल/खराब, सत्य/असत्य आदि पहिल्याउने आन्तरिक शक्ति हो, विवेक हो।यसले भित्री हृदय वा चित्तको शुद्धता झल्काउँछ।गाढा नीलो रङ्गले शान्ति र सहानुभूति जनाउँछ।महिला कर्मचारीको नीलो सारी र ब्लाउज स्वच्छ आकाश वा बदलीरहित आकाशजस्तै छ। कर्मचारी काम र नतिजाले प्रकाशित भइदिए नागरिकको आँखाभरि रहने थिए।गाउँ देहातका लोक भाकाभरि सजाइने थिए ।
पोसाकमा कर्मचारीलाई नागरिकले सजिलै चिन्नसक्ने भएकोले यो बिचौलियाको शत्रु नै हो।यस कारण तोकिएको यो पोसाक छनोटको तरिका मन पर्दो छ;लोभलाग्दो छ । पोसाक छनोट गर्ने ती महान् प्रस्तावक र निर्णयकर्ता श्रद्धाका पात्र हुनुपर्छ।अज्ञात नै सही उहाँलाई म मनमनै खुबै श्रद्धा गर्छु ।
यही पोसाकको कारण बाटोमा हिंडदा जताततै भट्टीमा बसेर दारु वा ठर्रा तान्न नपाउने मात्रै होइन,जब्बरै अनुशासित बन्नुपर्ने बाध्यता छ।नत्थी लगाए झैँ यसले घरमा पुर्याउँछ र स-साना नानीहरूको अभ्यास कार्यमा सघाएको छ । पारिवारिक जमघटका लागि समय निकालेको छ ।
आमा पछि चिनिने प्रिय वस्तु भनेको “पैसा” भएको छ।वाल सुलभ मानसपटलमा समेत यसको उच्च स्थान छ।यो प्रिय वस्तु नरम हुने, गुणस्तरीय हुने र आकर्षक बनोटको हुन्छ।त्यसैले त पैसोमा कलि चढेको छ । यसैमा लुब्ध मानिस लोभी र पापी भएको छ।आजकलका मानिसमा पैसोप्रति मोहको परिणामस्वरूप ऊ अपराधी मनोवृत्तिको बनेको छ।पैसा कमाउनका लागि जस्तोसुकै सौदावाजी गर्न तयार छ।यहाँनेर मानिसमा मानवता रहेन,थप दुःखको कुरो मानवीय मूल्य रहेन। ”द्रव्येसु सर्वेपसाः” मूल मन्त्र भएको छ ।
पैसाको महत्त्व बढ्नाले जमाना उपभोक्तामुखी भएको छ।यहाँ उठ्दा, बस्दाको दैनिकी होस् वा चाडपर्व मनाउन वा इष्टमित्रसँग भेटघाट गर्न पनि जीवन महँगो हुँदैछ। महात्मा गान्धीले अथाह आवश्यकता,ज्यादा लोभीपना र विषय वासनामा लिप्त हुनु नै सज्जन मानिसका तीन शत्रुहरू हुन् भन्नुभएको छ। सिङ्गै पृथ्वी खाए पनि मानवीय आवश्यकता कहिल्यै पुरा हुँदैनन्।लोभी व्यक्तिहरू कहिल्यै सन्तुष्ट हुँदैनन्; र विषय वासनामा लिप्त हुनेहरू पछुताउमा पर्दछन्।यस प्रसङ्गमा, निजामती सेवा समाजको उपप्रणाली भएकोले समाजजस्तै निजामती हुन्छन् भनी तर्क गर्नेहरू पनि छन्।तर समाज बदल्ने हामीजस्तै मानिस हुन् भन्ने कुरा बिर्सिइएको छ ।
निष्ठा र इमानले धन कमिने होइन।जागिर खानु भनेकै पदस्थापन मिलाउनु हो।यो बुझेकाहरू तिनको पदस्थापन मिलाउँछन् ।यसमा ट्रेड युनियनहरूले झण्डै बिचौलियाको भूमिका निभाएका छन्। यसैको टेकोमा उभिएर निर्णय गर्ने राजनीतिक र प्रशासनिक नेतृत्व गन्हाउने खालकै हुने भुक्तभोगीहरूको अनुभव सुनिएको छ। जसरी पनि धन कमाउने आदत भएकाहरू प्रशासनिक वातावरण बिग्रँदा आहत हुन्छन्,विचलित हुन्छन्।सुख, शान्ति र अमनचयन हराई बेचैन हुन्छन्; र तिनीहरूमा क्रोधी, अपराधी मनोवृत्तिको विकास हुन्छ। ”रातको निद्रा,दिनको भोक हराउँछ” र शोक बढाउँछ।ए साँचै! के यसको गणितीय मूल्य अङ्क सेतो कागजको एक पंक्तिमा अटाउला?“व्यक्तिको इमान नै सार्वजनिक जीवनको सबैभन्दा कडा नियम हो” भन्ने जर्मन दार्शनिक इमानुअल कान्टको भनाई सुन्दा कति पेट पोल्ला? व्यूरोमेनियाहरूलाई।
धनमा मन भएकाहरूको ढुङ्गाको मन हुन्छ।तिनीहरू कठोर हुन्छन्। उनीहरूको अर्जुन दृष्टि धनमा नै हुन्छ।सामाजिक व्यवहार देखावटी र ढोँगी हुन्छ।जे कुरा पनि धनद्वारा प्राप्त गर्ने सकिने भ्रम हुन्छ;घमण्ड हुन्छ।धनले मन र प्रेम किन्न सकिंदैन भन्ने के थाह तिनीहरूलाई। धनको विशेषता नै बर्खाको खहरे समान हो।आज छ, भोली छैन।मायाद्वारा छोपिएकोले विपरीत मति हुन जान्छ।लक्ष्मीको निवास एक ठाउँमा हुँदैन भन्ने भुल्दछन्;तिनीहरू।हो पनि पैसाप्रतिको मोहधारी व्यक्ति धेरै छन् समाजमा;निजामतीमा पनि ।
पैसो कमाउने दुस्साहसबाट टाढा रहने कर्मचारीको घरमा दुःख नै साथी हुनेछ।नाम चलेका होटलमा भात भान्सा हुनेछैन। मीठो मसिनो दुई छाक विरलै पाक्ला। कहिलेकाहीँ बालबालिकाको चित्त बुझ्नेछैन;बुझाउन कोसिस गर्नुपर्नेछ।दुःखमा गर्जो टार्न नसक्ने भनी आफन्तको सम्मान नहोला। जीवनमा सार्वजनिक साधनको प्रयोग हुनेछ। तर घरमा आफ्नै हातद्वारा निर्मित खाना खाने मन हुने र पैदल विहारले व्यक्तिको स्वास्थ्यमा सकारात्मक प्रभाव पार्नेछ।शरीर भारी हुनेछैन।छिमेकी र समूहसँग सामाजिक घुलमिल र सहकार्य हुन्छ।यो नै अमूल्य सामाजिक धन हो।
“कार्यालय” मानवीय व्यवहार गर्ने एक परिचित स्थल हो। जहाँ कामदार वा कर्मचारीले इच्छाको प्राथमिकीकरण गर्दछन्।त्यहाँ असल काम गर्नेहरूको तारिफ गरिन्छ। विचारको मूल्य हुन्छ र सम्मान मिल्दछ।फलस्वरूप, कार्य वातावरण अनुकूल भइ उत्पादकत्व बढ्छ।त्यसैले नेतृत्व, जिम्मेवारी, उद्देश्य, स्वीकृति, प्रतिवेदन, सल्लाह, निकटता, सौहार्दता र समूह कार्य सबै नै कार्यालयका तत्त्व विधान हुन् ।
वातानुकूलित भएकोले कार्यस्थल मानवीय प्रयोगशाला पनि हो।यहाँबाट उद्देश्य प्राप्तिका लागि कार्य योजना बनाइन्छ, कार्य जिम्मेवारी तोकिन्छ र अन्तमा उत्पादन हुन्छ।इल्टन मायोको मानवीय व्यवहारको सिद्धान्त,एफ डब्ल्यु टेलरको वैज्ञानिक व्यवस्थापनको सिद्धान्त, हेनरी फेयलको चौधवटा प्रशासनिक सिद्धान्त र मास्लोको तहगत आवश्यकताको सिद्धान्त कार्यालय र व्यक्तिको वृत्ति र कृत्ति सुधार्नका लागि आएका खोज तथा अनुसन्धानका निष्कर्षहरू हुन् ।
सरकारी सिन्दूर एक अनुशासन हो।सौभाग्यको प्रतीक हो। राणा कालमा सरकारी सिन्दूर लगाएपछि मात्र राणाकालीन श्री तीन सरकारको भारदार हुने हुँदा यसको महत्त्व अधिक थियो रे।के अब सरकारी सिन्दूरको महत्त्व घटेको हो?अवश्य होइन,थप वृत्ति विकासका अवसरहरू प्राप्त भएका छन्। कार्यालय र कामका प्रकृति थपिएको छ।कार्य प्रणाली र कार्य प्रविधि फेरिएको छ।वैज्ञानिक व्यवस्थापनका औजार प्रयोग भएका छन्। कर्मचारीको क्षमता, विचार र सीपमा विस्तार भएको छ।त्यही तरिकाले नागरिकको सेवा,सुविधा बढेका छन्।कैयन् विकृति र विसङ्गतिका बाबजुद पनि आधुनिकता नै मानिसको सेवक भएको छ ।
हो÷त्यही बहु विधान, बहु विचार र विविधता भएको ठाउँमा काम गर्न पाउने भाग्यमानी जगत हो,निजामती सेवा।विविधताको सम्मान गर्दै असल अभ्यासको अनुसरण गर्नुपर्छ। बहुभाषी क्षमताको विकास गर्दै संवेग र आवेग रोक्नुपर्छ।नागरिकको हृदय छुनुपर्छ।भौगोलिक विविधताको जटिलता बुझ्नुपर्दछ।तब न यो एक सार्वजनिक सेवाको नमुना सेवा हुनसक्छ ।
जब म वास्तविकतामा फर्कन थालेँ। मेरो दिमागको दाहिने भाग ऊर्जाशील हुन थाल्यो।के निजामती सेवा श्याम श्वेत तस्बिर जस्तै स्वच्छ छ?कार्य अनुभव भएका भुक्तभोगीका अनुसार कार्यालयमा ठिक जनशक्ति सही ठाउँमा छनोट भएको र काम दिइएको कहीँ देखिँदैन । क्षमताको आधारमा जिम्मेवारी दिने प्रचलन स्खलित हुँदै गएको छ। कतिपय अवस्थामा काममा लजाउने र सुविधामा रमाउने प्रवृत्ति रहन्छ।धेरै राष्ट्रसेवक आफूले भन्दा पनि अर्कोले सुविधा पाएकोमा गुनासो र असन्तुष्टि व्यक्त गर्दछन् ।यस सन्दर्भमा ”तुलना” यो एक मनोरोग बन्दछ ।
कार्यालय भनेर हुन्छ र?यो जिम्मेवारीमा कतिन्जेल रहने हो कसैलाई थाहै हुन्न यहाँ। कहिले दरबन्दी कटौती हुन्छ,कहिले फाजिलमा पुगिन्छ,कहिले हटाउनेमा परिन्छ,कहिले पुल दरबन्दीमा परिन्छ।कर्मचारीहरू राजनीतिक तनाव वा उल्झनमा परेका उदाहरण प्रशस्तै देखिए;इतिहासमा।तुलनात्मक रूपमा स्थायित्व भएका अन्य सङ्गठनहरूका जनशक्ति यसलाई मजाकका रूपमा लिन्छन्।”घुमी फिरी रुम्जाटार” भन्ने बिर्सिन्छन्; बिचराहरू।
कुनै ट्रेड युनियनमा नलागेको मुर्खव्यक्ति पाउनै सकिदैंन;रे।यसै भन्छन् सौदागरहरू। के समाजशास्त्री म्याक्सवेवरको निष्पक्षताको चरित्र कर्मचारीतन्त्रमा हुँदै हुँदैन ? मेक्सवेवरलाई चुनौती दिने च्याउधारी सङ्गठनहरूसँग सोध्न मन लाग्छ । कर्मचारी सङ्गठनहरूले काम राजनीतिका लागि गर्छन् वा नागरिकका लागि ? अवधारणाअनुसार त सङ्गठनले कर्मचारीका सुविधा र हित हेर्नुपर्ने होइन र ? बहस, संवाद र सौदावाजी गर्नपर्ने होइन र ?
शोधहरू भन्छन् -मुस्कुराउने काम स्वास्थ्यका लागि फाइदाजनक छ। कार्यालयमा कति निजामती कर्मचारीले मुस्कान सहितको सेवा दिन सक्छन् वा दिएका छन् ? काम गरेपछि बुढाबुढी उमेरका कति सेवाग्राहीले कर्मचारीको शरीर सुमसुम्याएका छन् र छोराछोरीलाई जस्तै माया गरेका छन् ? घुम्ती सेवाबाट कति नागरिकले सेवा पाएका छन् ?
अनुभवीहरू भन्छन्/जीवनदायी पानी पिउनका लागि ठुला मानिसका आफन्तजन सेवाग्राही भएर कार्यालय जानुपर्दछ। अन्यले यदाकदा यस्तो अवसर पाए भने यी घटनाहरूको ब्रोडसिट कागजमा भँगेरे टाउके समाचार बन्छन्। तर सधैँ र सबै बन्दैनन् किन ? के गणतन्त्रको उपलब्धि यही हो त ? के यस्तै सामन्तीशैलीले गर्दा ती प्राथमिकता दिनुपर्ने सेवाग्राहीको आर्शिवाद मिल्ला ? खै कुन्नि ।
नम्रता, सहिष्णुता, राजनीतिक असहभागिता, निष्पक्षता, अविभाज्यता, प्रतिबद्धता र समता नै सार्वजनिक जीवनका सिद्धान्तहरू हुन् । के यी सिद्धान्तहरू कागजी पानाका गहना मात्र हुन् ? अवश्य होइनन् । निजामती कर्मचारीको अबको गन्तव्य राजनीतिप्रतिको प्रतिबद्धता होइन। राष्ट्र, नागरिक र संविधानप्रतिको प्रतिबद्धता हो । नतिजा नागरिकको अपेक्षा हो यसका लागि भरपुर कोसिस गर्नै पर्दछ। पोसाक लगाऊँ यसैमा अनुशासन छ; पैसाको दम्भ नर्कको द्वार हो । प्रणाली छ र त हामी निजामती छौँ । लोकतन्त्रमा नागरिक शासनको मूल्य चेत हुनै पर्दछ। करदाता नागरिकको सम्मान गर्नजरूरी छ । मानव यति स्वार्थी छ की ऊ मरेपछि पनि स्वर्गको इच्छा गर्दछ । तसर्थ,परलोकभन्दा पनि इहलोक सुधार्ने हो भने नागरिकको करबाट तलब, भत्ता र सुविधा प्राप्त गरेका निजामती कर्मचारी सुध्रनुको विकल्प छैन । धन्यवाद