काठमाडौँ। नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा प्रदायकहरूलाई ग्राहकसँग लिने शुल्क/महसुलदर अनिवार्य स्वीकृत गराउन निर्देशन दिएको छ ।
बिहीबार प्राधिकरणको आर्थिक विश्लेषण शाखाले एक परिपत्र/सार्वजनिक सूचना गर्दै दूरसञ्चार ऐन, २०५३ को दफा ४२ तथा अनुमति पत्रको सर्त बमोजिम दूरसञ्चार सेवा प्रदायकहरूले सेवा प्रदान गरे बापत ग्राहकसँग लिने शुल्क/महसुलदर प्राधिकरणबाट अनिवार्य रूपमा स्वीकृत गराउनुपर्ने स्मरण गराएको छ ।
कानून अनुसार प्राधिकरणबाट स्वीकृत भएको मिति समेत उल्लेख गरी ग्राहक तथा सर्वसाधारणको जानकारीको लागि सूचना प्रकाशित गर्नुपर्ने सूचनामा उल्लेख छ ।
प्राधिकरणबाट दूरसञ्चार सेवाको शुल्क/महसुलदर प्राधिकरणबाट स्वीकृत गराएर कानुन अनुसार सूचना जारी गरेपछि मात्रै इन्टरनेट सेवाको महसुलदर लागु हुने व्यवस्था गर्न सेवा प्रदायकहरूलाई निर्देशन दिइएको छ ।