पर्यटकको पर्खाइमा मुस्ताङको चुङसी गुफा « प्रशासन
Logo २९ भाद्र २०८१, शनिबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

पर्यटकको पर्खाइमा मुस्ताङको चुङसी गुफा


१८ भाद्र २०८१, मंगलबार


म्याग्दी । मुस्ताङको लो–घेकर दामोदर कुण्ड गाउँपालिका–३ मा रहेको चुङसी गुफा पर्यटकका पर्खाइमा छ । चीन र भारत जोड्ने कालीगण्डकी करिडोरको बेनी–जोमसोम–कोरला सडकअन्तर्गत साङबोचे नजिकै रहेको गुफाको महत्त्व र विशेषताका बारेमा प्रचारप्रसारको कमीले ओझेलमा परेको हो । लो–घेकर दामोदर कुण्ड-३ घिलिङका वडाध्यक्ष झब्याङ तेन्जिङ गुरुङले चुङसी गुफामा पर्यटक भित्र्याउन पहल गरिएको बताए । 

“गुफासम्म पुग्ने सडक र पदमार्ग तयार भएको छ”, उनले भने, “उपल्लो मुस्ताङ भ्रमणमा आउने पर्यटकको बसाइ लम्ब्याउनका लागि चुङसी गुफाको प्रवर्द्धनमा जोड दिएका हौँ ।” साङबोचेबाट दुई किलोमिटर कच्ची सडक र एक किलोमिटर पैदलयात्रा गरेपछि चुङसी गुफामा पुगिन्छ । 

भेनाखोलाको किनारबाट १० मिनेट उकालो पैदलयात्रा गरेपछि पहाडको बीचमा रहेका दुई वटा ठूला गुफामा पुगिन्छ । तीन वटा तला रहेको तल्लो चुुङसी गुफाभित्र विभिन्न देवीदेवताका मूर्ति, जनावरका प्राकृतिक आकृति अवलोकन गर्न सकिन्छ । 

गुफाभित्र तपस्वी ध्यान बसेको आकृति देखिने शिला रहेको छ । गुफाभित्र नै गुम्बा रहेकाले यसको धार्मिक महत्त्व पनि छ । गुम्बामा लामा बस्छन् । भगवान् बुद्धको मूर्ति रहेको चुङसी गुफाभित्रको गुम्बामा बौद्ध धर्मावलम्बीहरूले यहाँ पूजाआजा गर्छन् । लामाहरूले ध्यान, तपस्या गर्छन् । 

तल्लो चुुङसी गुफाबाट थप पाँच मिनेट उकालो पैदलयात्रा गरेपछि उपल्लो चुङसी गुफामा पुगिन्छ । करिब ५० मिटर लम्बाइ र २० मिटर चौडाइको यो गुफाभित्र पनि देवीदेवताका मूर्ति, जनावर र जनावरका अङ्गका आकृतिहरू देखिन्छ । उपल्लो र तल्लो चुङसी गुफाको फेदीमा रहेको अर्को गुफाभित्र पानी रसाउँछ । सो पानीलाई गुफा अवलोकन गर्न आउने भक्तजन र पर्यटकले प्रसादका रूपमा भाँडामा भरेर लैजाने गर्छन् । उपल्लो मुस्ताङवासीको भाषामा चुङसीको अर्थ प्राकृतिक हुन्छ । 

चुङसी गुफा अवलोकन गरेका म्याग्दीका सुरेन गुरुङले शान्त वातावरण, प्राकृतिक, अलौकिक र अनौठा दृश्यले मोहित बनाएको बताए । “साङबोचेबाट चुङसी गुफा जोड्ने सडकलाई स्तरोन्नति, महत्त्व र विशेषताको प्रचारप्रसार गर्न सकेमा यहाँ पर्यटकको आइरो लाग्छ”, उनले भने, “यस्तो अनौठो गुफा अन्यत्र देखेको थिइनँ ।”

गुफाको वरपर अग्ला पहाड छन् । सुक्खा पहाडको खोँच एकान्त छ । हाल दैनिक आठ–दश जनाको अनुपातमा पर्यटक चुङसी गुफा अवलोकन गर्न जाने गर्दछन् । लो–घेकर दामोदरकुण्ड गाउँपालिकाले भेनाखोलाको फेदीबाट चुङसी गुफा जोड्ने पहाडको उकालोमा रेलिङसहितको ढुङ्गाको सिँढी बनाएर पदमार्ग निर्माण गरेको वडाध्यक्ष गुरुङले बताए । केन्द्रीय प्रसारण लाइनको विद्युत् सुविधा विस्तार भएको छ । भेनाखोलाको किनारमा पदमार्ग संरक्षणका लागि तटबन्ध गरिएको छ । 

पदमार्ग निर्माणका लागि रु ३० लाख लगानी गरिसकेको र सडक स्तरोन्नति गर्न चालु आर्थिक वर्षमा रु १५ लाख विनियोजन गरेको उनले बताए । पैदलयात्रा गर्न चाहने पर्यटकका लागि समरबाट चुङसी गुफा हुँदै साङबोचे जोड्ने परम्परागत पदमार्गलाई स्तरोन्नति गरिएको छ । सडकमा सवारीसाधनमा यात्रा गर्न नरुचाउने विदेशी पर्यटकले यो पदमार्ग प्रयोग गर्छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस