काठमाडौँ । मधेस प्रदेश सभाको महिला, बालबालिका तथा सामाजिक न्याय समितिले प्रदेश खेलकुद विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि दफावार छलफल गरी पारित गरेको छ । सो विधेयक प्रदेशसभामा पेस गर्ने निर्णय समितिले गरेको छ ।
समितिका सभापति रूपा यादवको अध्यक्षतामा आज जनकपुरधाममा उक्त विधेयकमाथि दफावार छलफल भएको थियो । विधेयकमा प्रदेश खेलकुद परिषद् गठन, जिल्ला खेलकुद विकास समितिको गठन, खेलाडीको वृत्तिविकास, सेवा सुविधा, व्यावसायिक सुरक्षा बीमा, खेलकुद प्रशिक्षण प्रतिष्ठान, खेलकुद प्रतियोगितालगायत विषय समावेश गरिएको छ ।
समितिका सदस्य रामसरोज यादवले विधेयकमा स्थानीय तहदेखि अन्तर्राष्ट्रियस्तरसम्म खेलाडी उत्पादन गर्ने गरी कानुनी व्यवस्था प्रस्ताव गरिएको जानकारी दिनुभयो । सोमबार बिदाका दिन भए पनि विधेयकको महत्वलाई दृष्टिगत गरी छलफल गरिएको समितिकी सभापति यादवले बताए ।
बैठकमा प्रदेश सभा सदस्यहरू रामसरोज यादव, कुँवरकान्त झा, अञ्जना पण्डित र किशोरीदेवीको सहभागिता रहेको थियो । विधेयक गत वर्ष छलफलका लागि समितिमा पठाइएको थियो ।