हो,
पहिरो म आत्मा बोल्दै छु
तिम्रो अहङ्कारले अकालमै मरेको आत्मा
त्यही आत्मा बोल्दै छु।
सुन यो त्यो दिनको घटना हो
म दिनभर खेतमा काम गरी
लखतरान भएर आएको थिएँ
जोहो गरेर पकाएको खाना खाएर
दिनभरिको थकान मेट्न म सुतेको थिएँ
म यस्तरी सुतेको थिएँ कि कसैले छेवैमा आएर
चिमटे पनि चाल पाउन्न थेँ
लाग्थ्यो जीवित भएर पनि मुर्दा झैँ छु।।
सुत्दै म सपनामा महल सजाउँदै थिएँ
पहिरो, यही बेला तिमीले मौका पायौ
अनि तिमीले मौकामा चौका हान्यौ
कमलो माटो चिरा परेको भागलाई नै रोज्यौ
डङडङ आवाजसँगै खस्यौ
तिमी खसे पछि
पहिला मेरो घर बिलायो
म बिलाएँ
अनि मेरो सपना बिलायो
अब म आत्मा बोल्दै छु
पहिरो तिमीलाई बिन्ती
तिमी प्रकृतिको नियम हौ थाहा छ
तैपनि पहिरो बिन्ती छ तिमीलाई
तिमी खस
सक्छौ भने पहाडै फोरी खस
तर खस्दा दिउँसो खस
सबैलाई जानकारी दिएर खस
यसरी खस कि उसले भाग्न मौका पाओस्
उ आत्मासँग हैन जीवनसँगै दगुर्न पाओस्
कसैले जीवन गुमाउनु नपरोस्
कोही पनि आफन्त गुमाउनुको पीडा
जीवन भर लिएर बस्नु नपरोस्
पहिरो, तिमी पनि प्राकृतिक नियम पूरा गर
तर सम्हालिएर सबैलाई थाहा दिएर।