काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले १२ जना मन्त्री र प्रदेशका प्रमुख सचिवसँग कार्यसम्पादन सम्झौता गरेका छन् ।
मुख्यमन्त्री लामाले बुधबार कृषिमन्त्री प्रकाश श्रेष्ठ, भौतिक मन्त्री अमनकुमार मास्के, आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्ले, आन्तरिक मामिला तथा कानून मन्त्री सुरज चन्द्र लामिछाने, वन तथा वातावरण मन्त्री कृष्णप्रसाद सिलवालसँग कार्यसम्पादन करार सम्झौता गरे ।
यस्तै, उद्योग मन्त्री सुकमाया तामाङ, स्वास्थ्य मन्त्री किरण थापा, यातायातमन्त्री प्रेमभक्त महर्जन, सामाजिक विकास मन्त्री हरि प्रभा खड्गी, खानेपानी मन्त्री श्याम खड्का, पर्यटन मन्त्री विमल ठकुरी र प्रमुख सचिव गोविन्दबहादुर कार्कीसँग पनि सम्झौता गरेका छन् ।
विना विभागीय मन्त्री मदुकुमार श्रेष्ठसँग भने सम्झौता गरेका छैनन् ।
प्रमुख सचिव कार्कीका अनुसार मन्त्रालयको जिम्मेवारी तोक्न बाँकी रहेकाले श्रेष्ठसँग कार्यसम्पादन सम्झौता नगरिएको हो । मुख्यमन्त्री लामाले श्रेष्ठलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको जिम्मेवारी दिएर राखेका छन् ।
यसैगरी, कार्यसम्पादन करार सम्झौता कार्यक्रममा स्वास्थ्य समस्याका कारण युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जन उपस्थित भएनन् । उनीसँग पछि कार्यसम्पादन करार सम्झौता हुने जनाइएको छ ।
१२ जना मन्त्रीले मन्त्रालयका सचिव र प्रमुख सचिव कार्कीले आफू मातहतका कर्मचारीसँग पनि कार्यसम्पादन सम्झौता गर्नेछन् । प्रदेश सुशासन ऐनको दफा १९ बमोजिम सुशासन कायम गर्न र सरकारका काम कारबाही प्रभावकारी बनाउन कार्यसम्पादन करार सम्झौता गरिएको मुख्यमन्त्री लामाले बताए ।
उनले चालू आर्थिक वर्ष २०८१/८२ को वार्षिक स्वीकृत कार्यक्रमलाई प्रभावकारी बनाएर समयमै काम सम्पन्न गर्न करार सम्झौता उपयोगी हुने विश्वास व्यक्त गरे ।
मुख्यमन्त्री लामाले सरकारको काम जनताले देखिने, बुझिने र सुनिने गरी हुनुपर्ने बताउँदै सम्झौता कार्यान्वयनमा जोड दिन मन्त्री र मुख्य सचिवलाई निर्देशन दिए ।