काठमाडौँ । सरुवा सच्याउन केही सहसचिवहरू शक्तिकेन्द्रमा दौडधुप गरिरहेका छन् । ३१ साउनमा सरुवा भएका ५९ जना सहसचिवहरूमध्ये केही सहसचिवहरू आफू अनुकूलको निकायमा जान शक्तिकेन्द्रतिर धाउन लागेका हुन् ।
प्रशासन स्रोतलाई प्राप्त जानकारी अनुसार आधा दर्जन जति सहसचिवहरू सरुवा मिलाउनु पर्ने भन्दै राजनीतिक तथा प्रशासनिक केन्द्रहरूमा पुगिरहेका छन् । उनीहरूले विभिन्न व्यक्तिहरूबाट फोन गराएर जसरी पनि सरुवा सच्याउने ध्याउन्नमा लागि रहेको ती स्रोतको भनाई छ । तर यता मुख्य सचिव लीलादेवीले भने गरिसकेको निर्णय नसच्याउने बताएको एक सचिवले जानकारी दिए ।
‘९ बजे भएको मन्त्रिपरिषद्को निर्णय ११ बजे प्रमाणित गरेर मुख्य सचिवज्यू भोलीपल्ट उपत्यका बाहिर जानु भएको हो’ ती स्रोतले भने, ‘गरिसकेको निर्णय कार्यान्वयन नहुँदै सच्याउन राम्रो सन्देश नजाने भएकोले उहाँले अब त्यसो नगरौँ भन्नुभएको हो ।’ त्यसो त पछिल्लो समय सम्भवतः सबैभन्दा छिटो निर्णय प्रमाणीकरण गड्तौलाले नै गरेकी छिन् । यसअघि प्रस्ताव ल्याउनै मात्र होइन, भई सकेको निर्णय समेत मन्त्रिपरिषदबाट तेहर्याएरसमेत गरेका उदाहरणहरू निजामतीमा प्रशस्तै छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा बिहीवार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न निकायमा कार्यरत ५९ जनाको हाराहारीमा सहसचिवहरूको सरुवा गरेको थियो ।
सम्बन्धित समाचार : ५९ सहसचिवको सरुवा, हेर्नुहोस् को कहाँ ?
पछिल्लो समय रीति थिती भन्दा बेथितिले बढी गाँज्दै गएको निजामतीमा शक्तिकेन्द्रको छाया बढ्दै गएको देखिन्छ । प्रणालीलाई लत्याएर पावर हुनेहरूले जहिल्यै अवसर लिइरहने र शक्तिकेन्द्र नधाउनेहरू पछाडि परिरहने प्रवृत्तिले निजामतीमा अरुचि पनि त्यतिकै देखिन्छ । जसलाई तत्काल सच्याउन नसक्ने हो भने त्यसको प्रभाव सेवा प्रवाहमा पर्न गई थप आलोचित हुने अवस्था देखिन्छ ।