रुपन्देही । निजामती कर्मचारीका विभिन्न संगठनहरुले निजामती सेवा ऐनमा आफ्ना माग समावेश गर्न आग्रह गरेका छन् ।
रुपन्देहीमा क्रियाशील कर्मचारीहरूका संगठनले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै प्रस्तावित निजामती सेवा ऐनको सन्दर्भमा राष्ट्रियस्तरका ट्रेड युनियनको सक्रियतामा निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियन रुपन्देहीले विभिन्न सेवा समूहका कर्मचारीको सुझावअनुरूप ८४ बुँदे माग प्रधानमन्त्रीलाई बुझाइएको भन्दै त्यसको सुनुवाइ गर्न पनि आग्रह गरेका छन् ।
उनीहरूले मुलुक संघीयतामा गएको लामो समयसम्म पनि संघ, प्रदेश र स्थानीय सेवाको कर्मचारीलाई मार्गदर्शन गर्ने संघीय निजामती सेवा ऐन जारी हुन नसक्दा संघीयताको प्रयोग र अभ्यासमा समस्या सिर्जना भएको र कर्मचारीका सेवा, सर्त र वृत्ति विकासमा गम्भीर असर पुगेको ठहर गरेका छन् ।
संसद्को राज्य व्यवस्था समितिमा छलफल हुन विलम्ब भएको विधेयकमा राष्ट्रिय स्तरका ट्रेड युनियनले संयुक्त रूपमा पेस गरेको संशोधन प्रस्तावलाई समेटी यथाशीघ्र कर्मचारीमैत्री संघीय निजामती सेवा ऐन संसद्बाट पास गरी लागू गर्न उनीहरूले माग गरेका छन् ।
