काठमाडौँ । काठमाडौँ महानगरपालिका प्रमुख बालेन्द्र साह (बालेन)को प्रशंसा गर्दै गीत गाउँदा सरुवा गरेको आरोप लागेपछि पोखरा महानगरपालिकाले स्पष्टीकरण दिएको छ । आइतबार एक विज्ञप्ति जारी गर्दै महानगरको नियमित सरुवा प्रक्रियालाई अतिरञ्जित गरिएको जनाएको हो ।
बालेनको प्रशंसा गर्दै गीत गाउँदा पोखरा महानगरले दुर्गम क्षेत्रमा सरुवा गरेको एक महिला कर्मचारीले आरोप लगाएकी थिइन् । एक टेलिभिजन कार्यक्रममा महानगरको सामाजिक विकास महाशाखामा कार्यरत सातौँ तहकी अधिकृत चन्द्रावती वाग्लेले आफूलाई बालेनको प्रशंसामा गीत गाएका कारण सरुवा गरिएको दाबी गरेकी थिइन् ।
महानगरले हालै मात्र उनलाई सामाजिक महाशाखाबाट वडा नं. २३ मा सरुवा गरेको छ । वाग्लेले सामाजिक विकास महाशाखामा आएको ३ महिनामै आफूलाई महानगरले बद्नियतपूर्वक सरुवा गरेको दाबी गरेकी हुन् । उनले राजश्व धेरै उठ्ने सहरी वडामा छैटौँ तहकै कर्मचारी भए पनि आफूलाई दुर्गम ठाउँमा सरुवा गरेको बताएकी छन् ।
वाग्लेले बालेनको प्रशंसा गरेर गीत गाउँदा सरुवा गरेको आरोप लगाएपछि महानगरले आफ्नो ध्यानाकर्षण भएको जनाएको हो । महानगरले वाग्लेमात्र नभई नियमानुसार ४२ जना कर्मचारीलाई सरुवा गरिएको जनाएको छ ।
महानगरका प्रवक्ता मोती तिमिल्सिना हस्ताक्षरित उक्त विज्ञप्तिमा कार्यालयले नियमानुसार गरेको कर्मचारी सरुवाको विषयलाई विषयान्तर गरी भइरहेको भ्रामक प्रचार भएको दाबी गरिएको छ ।
