काठमाडौँ । मन्त्रिपरिषद्को नियमित बैठक आज बस्दै छ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा अपराह्न पाँच बजेका लागि बैठक बोलाएका हुन् ।
बैठकले मन्त्रालयहरूबाट प्राप्त नियमित प्रस्तावहरूमाथि छलफल तथा निर्णयसँगै केही सरुवा तथा नियुक्ति पनि गर्न सक्ने बुझिएको छ । प्रशासन सिंहदरवार खास स्रोतका अनुसार सानो संख्यामा भए पनि सह सहसचिवको सरुवा हनु सक्ने बताइएको छ । यसअघि सयौँको संख्यामा सूची तयार गरिएको भनिए पनि आज भने दुई दर्जन जतिको हाराहारीमा सहसचिवको तयारी रहेको ती स्रोतले बताए । यो संख्यामा केही तलमाथि हुन सक्ने पनि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय स्रोत बताउँछ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट बैठक बस्नु अघिसम्म प्रस्ताव पुगेको खण्डमा आजै निर्णय हुने छ । आज सरुवा सूचीमा पर्ने सहसचिवहरूमा अर्थ मन्त्रालय तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गत रहेका महत्त्वपूर्ण विभागका महानिर्देशक तथा मन्त्रालयको महत्त्वपूर्ण महाशाखा र महावाणिज्यदूतमा पठाइन लागेका सहसचिवहरूसहित अन्य केही निकायमा खटिई जानेहरूको सूची रहेको जानकारी प्राप्त भएको छ ।
यससँगै केही देशमा रिक्त महावाणिज्य दूत पनि आजै नियुक्त हुन सक्ने बुझिएको छ । सहसचिवको सरुवा सूचीसँगै महावाणिज्य दूतमा पठाउन लागिएका सहसचिवहरूको नामावलीसमेत पठाउने र आजै नियुक्त गर्ने सम्भावना रहेको ती स्रोतले जानकारी दिएका छन् ।