काठमाडौँ । कर्मचारीमैत्री संघीय निजामती सेवा ऐन तत्काल जारी गर्न माग गर्दै नेपाल निजामती कर्मचारी संगठन रुपन्देहीले शुक्रबारदेखि बृहत् हस्ताक्षर अभियान सुरु गरेको छ ।
लामो समयसम्म ऐन ल्याउन नसक्दा निजामती सेवा अस्तव्यस्त भएको भन्दै जतिसक्दो छिटो ऐन ल्याउनुपर्ने माग रुपन्देही संगठनले गरेको हो ।
संगठनले हस्ताक्षर अभियान सुरु गरेको अवसरमा सरकारले संघीय निजामती सेवा ऐन तत्काल जारी गर्नुपर्ने धारणा राख्दै कर्मचारीको सेवासुविधा कटौती गर्न नहुने र संघीय निजामती सेवा ऐन कर्मचारीमैत्री हुनुपर्ने भन्दै रुपन्देहीबाट संघीय निजामती सेवा ऐन जारी गराउन पहल स्वरूप हस्ताक्षर अभियान शुरु गरिएको बताएको छ ।
संगठनका लुम्बिनी प्रदेश ईन्चार्ज दधिराम मरासिनीले विगत १० वर्षदेखि संघीय निजामती सेवा ऐनविहीन अवस्थामा मुलुकको संघ, प्रदेश र स्थानीय संरचना क्रियाशील रहेकाले जतिसक्दो छिटो ऐन ल्याउनुपर्ने माग गरेका थिए। आम राष्ट्रसेवक कर्मचारीले अघि सारेका मुद्दासहित संघीय निजामती सेवा ऐन जारी गर्नुपर्ने संगठनको भनाइ छ ।