काठमाडौँ । सहकारी विकास बोर्डका सह-अध्यक्ष मित्रलाल दवाडीविरुद्ध राष्ट्रिय सतर्कता केन्द्रमा उजुरी परेको छ ।
दवाडीले बोर्डमा अनियमितता गरेको भन्दै छानबिन गरी कारबाहीका लागि उजुरी परेको हो । सह-अध्यक्ष दवाडीका कारण निगौल गाई गौशाला महोत्तरीमा ५२ बटा गाई मरेको, बोर्डको १ सय ३० बिगाहा जमिन गौशाला नगरपालिकालाई हस्तान्तरण गर्ने गैरजिम्वारपूर्ण काम गरेको भन्दै छानबिनका लागि सतर्कता केन्द्रमा उजुरी परेको हो ।
बोर्ड मातहत रहेको निगौल गाई गौशाला महोत्तरीमा कार्यरत डा. दिपेन्द्र पण्डितलाई बिना कारण हटाई गौशाला-९ मा दुई पटक नेकपा माओवादी पार्टीबाट टिकट पाई उम्मेदवार भएका वीर बहादुर चौधरीलाई नियमविपरीत प्राविधिक कर्मचारी नियुक्ति गरेको उजुरीमा उल्लेख छ । त्यसो त विगत १० वर्षदेखि कार्यरत सुरेश सिंहलाई पनि नियुक्ति दिइएको छैन ।
पशुस्वास्थ्य सम्बन्धी अध्ययन नै नगरेका चौधरीलाई नियुक्ति दिएको र उनले आफूखुसी औषधि खुवाउँदा ५२ बटा गाई मरेको भन्दै उजुरीमा छानबिनको माग गरिएको छ । तर, प्रशासनसँगको कुराकानीमा चौधरीले आफूमाथि निराधार आरोप लगाइएको बताए । ‘२०३८ सालमा मैले भेटेरिनरी गरेको हुँ । १० वर्षपछि जेटिएमा बढुवा भएँ । २०५० सालमा स्वेच्छिक अवकाश लिएको थिएँ । त्यसअघि विभिन्न स्थानमा पशुसेवा कार्यालयमा कार्यरत थिएँ’, उनले भने, ‘अहिले निगौल गाई गौशालामा निमित्त कार्यालय प्रमुखका रूपमा कार्यरत छु । मलाई लगाएको आरोप निराधार छ ।’ उनले आफू कार्यरत भएदेखि दुईवटा मात्र गाई मरेको जानकारी दिए ।
विगतमा करिब ३ सय गाई रहेकोमा हाल ७४ वटा मात्र गाई रहेका छन् । बोर्डका सह-अध्यक्ष दवाडीलाई गाई संरक्षणमा चासो नभएका कारण पशु चिकित्सक पण्डितलाई हटाई चौधरीलाई नियुक्त गरेको आरोप लागेको छ । पशुको रोगको ज्ञान नभका चौधरीले अनावश्यक औषधि ल्याई गाईलाई खुवाई मार्ने कार्य भइरहेको उजुरीमा उल्लेख छ । चौधरीले औषधि पसल व्यवसायीसँगको मिलोमतोमा माग फारम आफै भरी आफै खरिद आदेश गर्ने र आफै बिल बनाउने कार्य गरी लाखौँ रुपैयाँ हिनामिना गरेको उजुरीमा उल्लेख छ ।
आफ्नो मान्छे नियुक्त गर्न गौशालामा कार्यरत कर्मचारीलाई विभिन्न बाहान बनाई म्याद थप नगरेको, बोर्डको जग्गामा हाटबजार लगाएबापत गौशाला नगरपालिकाले बुझाउनुपर्ने करोडौँ रकम नउठाएको, बोर्डको १ सय ३० बिगाहा जमिन नगरपालिकालाई हस्तान्तरण गर्ने गैरजिम्मेवार कार्य गरेको भन्दै उजुरीमा छानबिन र कारबाहीको माग गरिएको छ ।
सहकारी विकास बोर्डका सह-अध्यक्ष दवाडीविरुद्ध उजुरी परेपछि सतर्कता केन्द्रले छानबिन सुरु गरेको छ । उजुरीबारे सतर्कता केन्द्रले पत्रसमेत काटेको छ ।
यसबारे बुझ्दा सहकारी विकास बोर्डका सह-अध्यक्ष दवाडीले निगौल गाई गौशालामा योग्य व्यक्तिलाई नै नियुक्ति दिएको बताए । गाई मरेको विषयमा जिज्ञासा राख्दा उनले लम्पी स्किन महामारीका कारण केही गाईको मृत्यु भएको जानकारी दिए । ‘जग्गा व्यवस्थापनको जिम्मा बोर्डले पाएका हो । नेपाल सरकारको जग्गा हस्तान्तरण गर्ने अधिकार मलाई छैन ।’
त्यसो त यसअघि पनि सहकारी विकास बोर्डमा भएको अनियमिताबारे छानबिन भएको थियो । बोर्डका कर्मचारीले अनियमितता गरेको विषयमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले छानबिन गरेको थियो ।
मन्त्रालयले गरेको छानबिन प्रतिवेदन अख्तियार दुरुपयोग अनुसन्धान आयोग पुगेको छ । मन्त्रालयका सहसचिव ज्ञानराज सुवेदीको नेतृत्वमा गठित छानबिन समितिले तयार गरेको प्रतिवेदन अख्तियार पठाइएको थियो । लगनखेलमा रहेको भवन लिजमा लगाउँदा भएको अनियमितताका सम्बन्धमा समितिले छानबिन गरेको थियो ।
सम्बन्धित समाचार : सहकारी बोर्डको अनियमितता सम्बन्धी छानबिन प्रतिवेदन अख्तियारमा