काठमाडौँ । बाङ्लादेशमा भएको घटनाबारे नेपाली काँग्रेसको बैठकमा पनि कुरा उठेको छ । आजबाट सुरु भएको केन्द्रीय समितिको बैठकमा त्यसबारे चाँडै दृष्टिकोण सार्वजनिक गर्ने प्रवक्ता डा. प्रकाशशरण महतले बताए ।
उनले भने, ‘बाङ्लादेशमा भएको राजनीतिक घटनाक्रम छ, त्यस विषयमा पनि छलफल भएको छ । त्यसबारे हाम्रो दृष्टिकोण चाँडै आउँछ ।’
एक महिनादेखिको प्रदर्शन हिंसात्मक बनेपछि प्रधानमन्त्री शेख हसिना प्रधानमन्त्री पदबाट राजीनामा दिएर भारत भागेकी थिइन् ।
यस्तै बैठकले नुवाकोटमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा परेर पाँच जनाको मृत्यु भएकोप्रति दुःख व्यक्त गरेको छ । दुर्घटनाबारे छानबिन गर्न पनि सरकारसँग माग गर्ने निर्णय भएको प्रवक्ता महतले बताए ।