काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले वैदेशिक रोजगारलाई मर्यादित, व्यवस्थित र सुरक्षित बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
आज यहाँ नेपालका बहुपक्षीय संस्थाका पूर्वअन्तर्राष्ट्रिय व्यवसायीको संस्था ‘फिप्मो’द्वारा आयोजित कार्यक्रममा उनले देशभित्रै पर्याप्त रोजगारको अवसर सिर्जना नभएसम्म वैदेशिक रोजगारलाई व्यवस्थित बनाउनुपर्ने आवश्यकता औँल्याउँदै यसका चुनौतीबारे चर्चा गरेका हुन् ।
अवैध बाटोबाट प्रतिबन्धित मुलुकमा पुगेका नेपाली महिला श्रमिक अलपत्र परिरहेको सन्दर्भ उल्लेख गर्दै मन्त्री भण्डारीले वैधानिक बाटो खोल्नुपर्ने आवश्यकता औँल्याए । मन्त्रालयको प्राथमिकतामा वैदेशिक रोजगार मात्र नभएको भन्दै वैदेशिक रोजगारबाट फर्किएका श्रमिकको सीप र पुँजीलाई उत्पादनसँग जोड्न सरकार प्रयासरत रहेको उनको भनाइ थियो । मन्त्री भण्डारीले यसका लागि सहकार्य गर्ने सम्बन्धित सबै संघसंस्थालाई एकद्वार प्रणालीबाट ल्याउनुपर्ने आवश्यकता पनि औँल्याए ।
उनले सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम) गरेर मन्त्रालयको पुनःसंरचना गर्ने तयारीबारे जानकारी दिँदै उनले आन्तरिक रोजगार महाशाखा स्थापना गरिने बताए । “यस मन्त्रालयअन्तर्गतको पुनःसंरचनामा वैदेशिक रोजगार महाशाखा, वैदेशिक रोजगार विभाग र वैदेशिक रोजगार बोर्ड छन् । यसले के इम्प्रेसन दिन्छ भने यस मन्त्रालयले खाली विदेश मात्र पठाउने काम गर्छ”, उनले भने, “पुनःसंरचनाअन्तर्गत हामीले आन्तरिक रोजगार महाशाखा स्थापना गर्दैछौँ । यसलाई मन्त्रिपरिषद्मा छिट्टै पठाउँदै छौँ ।”
मन्त्री भण्डारीले आप्रवासी कामदारले भोग्दै आएको समस्याको समाधानका लागि मन्त्रालय प्रयासरत रहेको बताए । उनले विश्वका विभिन्न मुलुकमा कागजपत्रको अभावमा अवैध रूपमा बस्न बाध्य नेपालीलाई आवश्यक सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गरे ।
“नेपाली नागरिक जुनसुकै देशमा अवैध रूपमा बस्नुपर्ने बाध्यता छ भने आवश्यक ‘डकुमेन्ट’लाई वैधानिक बनाउने काम नेपाल सरकारको हो”, मन्त्री भण्डारीले भने, “ती मुलुकहरूले उहाँहरूलाई काम दिएको हुन्छ । तर हामीले फाराम भरेन, काम गर्ने इजाजत पत्र लिएन लगायतका बहानामा अलपत्र पार्नु हुँदैन ।”