काठमाडौँ । प्रस्तावित निर्वाचन आयुक्त कृष्णमान प्रधानबारे र्निाय गर्न संघीय संसदको संसदीय सुनुवाइ समितिको बैठक आज बस्दै छ । सोमबार बिहान ११ बजे सिंहदरवारमा बस्ने समितिको बैठकले प्रधानलाई निर्वाचन आयुक्तमा अनुमोदन गर्ने कि नगर्ने भन्ने निर्णय गर्नेछ ।
२ असारमा संवैधानिक परिषद्को बैठकले प्रधानलाई निर्वाचन आयुक्तमा नियुक्त गर्न सिफारिस गरेको थियो । त्यसपछि संसदीय सुनुवाइ समितिले उजुरी आह्वान गर्दा एक महिलाले आफूलाई प्रधानले यौन शोषण गरेको उजुरी दिएकी थिइन् ।
समितिले असार १९ गते पीडित महिलालाई नै बोलाएर उजुरी र घटनाको बारेमा सोधपुछ गरेको थियो । पीडित महिलाले आफूमाथि प्रधानले यौन दुराचार गरेको प्रमाणसहित आफ्ना भनाइ राखेकी थिइन् ।
पीडितको बयानपछि प्रधानले आफ्नो चरित्रमाथि प्रश्न गर्ने जवाफ संसदीय समितिलाई नरहेको जवाफ दिएका थिए । त्यसपछि सांसदहरुले शीर्ष तहमा परामर्श गर्न पाँच दिनसम्म समय लिएका थिए । आज भने समिति सदस्यले विवेकका आधारमा निर्णय गर्छन् कि राजनीतिक नेतृत्वको दबाबमा सम्झौता गर्छन् भन्ने अन्तिम प्रतीक्षा छ ।