काठमाडौँ । ऊर्जा, जल स्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले कमिसनमा सडक पेटी ठेक्का दिने प्रवृत्तिको अन्त्य गर्न आवश्यक रहेको बताएका छन् । मंगलबार निर्माण व्यवसायी महासंघसँगको छलफलमा उनले यस्तो बताएका हुन् ।
मन्त्री खड्काले निर्माण व्यवसायीहरूको भुक्तानीको समस्यालाई सरकारले चाँडै सम्बोधन गर्ने गरी काम गरिरहेको बताए । उनले निर्माण व्यवसायीहरूले पाउनुपर्ने भुक्तानी पाउँदै जाने उल्लेख गरे । उनले सार्वजनिक खरिद ऐनमा पनि समस्या रहेकाले निर्माण व्यवसायीहरूले पनि विलोमा ठेक्का हाल्ने र त्यसैले पाउने भएकाले समयमा र गुणस्तरीय काम हुन नकसको बताए । उनले पछिल्लो ठुला निर्माण कम्पनीले ठेक्का लिने र पेटी ठेकेदारबाट १० प्रतिशत कमिसन राख्दै काम दिने प्रवृत्ति रहेको बताए । उनले सरकार र निर्माण व्यवसायीहरू मिलेर नै यस्तो प्रवृत्तिको अन्त्य गर्न जरुरी रहेको बताए । उनले जसले ठेक्का लिएको उसैलाई जिम्मेवार बनाउनु पर्ने बताए ।
मन्त्री खड्काले निर्माण क्षेत्रमा भएका समस्याको निर्माण व्यवसायी र सरकार मिलेर समाधान गर्न आवश्यक रहेको बताए । उनले निजी क्षेत्र बिना मुलुकको विकास सम्भव नभएको बताए । उनले स्थिर सरकार बनेकाले सबैले बधाई भन्ने गरी काम गर्ने इच्छा रहेको बताए ।
निर्माण व्यवसायीहरूले ऊर्जा मन्त्रीलाई निर्माण व्यवसायीहरूको रकम भुक्तानीको लागि रकमान्तर नहुने गरी सहजिकरण गर्न माग गरेका छन् । व्यवसायीहरूले निर्माण क्षेत्रको भुक्तानीको लागि जिम्मेवार मन्त्रालयका सचिवलाई नै जिम्मेवारी दिन आवश्यक रहेको बताए ।