काठमाडौँ । ढलमा पोलियो भाइरस भेटिएपछि सरकारले साउन ९ देखि १२ गतेसम्म काठमाडौँ उपत्यकाका बालबालिकालाई पोलियो खोप दिने भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सोमबार विज्ञप्ति निकाल्दै काठमाडौँ उपत्यकाका तीन जिल्लामा सञ्चालन हुने जानकारी दिएको हो ।
गत असार २९ मा टुकुचा-बागमती आसपासका ढलमा पोलियो खोपबाट उत्पन्न पोलियो भाइरस देखिएको थियो । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँको टुकुचा-बागमती सङ्गम नजिकबाट संकलन गरिएको ढलको नमुना परीक्षण गर्दा पोलियो भाइरस पत्ता लागेको हो ।
मन्त्रालयका अनुसार जेठ ३१ मा नमुना संकलनमा टाइप थ्री भाइरस पुष्टि भएको थियो ।
‘हालसम्म कुनै पनि व्यक्तिमा भने पोलियो भाइरस संक्रमण पुष्टि भएको छैन । यो मानिसमा पोलियो संक्रमण नभएर ढलमा भाइरस देखिएको घटना हो,’ जारी विज्ञप्तिमा भनिएको छ ।
पोलियोमुक्त देश घोषणा भएको १४ वर्षपछि वातावरणमा पोलियो भाइरस देखिनु चिन्ताको विषय भएको मन्त्रालयका अधिकारीले बताएका छन् ।