काठमाडौँ । बाराको जीतपुरसिमरा उपमहानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको सरुवा विवादित बनेको छ । सरकार परिवर्तन भए लगत्तै राजनीतिक स्वार्थमा प्रमुख प्रशासकीय अधिकृतको सरुवा गरिएपछि सरुवा विवादित बनेको हो ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पठाएको प्रमुख प्रशासकीय अधिकृतलाई स्वीकार नगर्ने उपमहानगरपालिकाले जनाएपछि यो विवाद सतहमा आएको हो । उपमहानगरपालिकाले कानुनविपरीत प्रमुख प्रशासकीय अधिकृत उर्मिला काफ्लेको सरुवा गरिएको भन्दै तत्काल सरुवा रोक्न सामान्य प्रशासन मन्त्रालयलाई पत्र बुझाएको छ ।

उपमहानगरपालिकाका प्रमुख राजन पौडेलले मन्त्रालयका कर्मचारी प्रशासन महाशाखा प्रमुख सहसचिव विष्णु ज्ञवालीलाई मन्त्रालयले पठाएका प्रमुख प्रशासकीय अधिकृत चेत कुमार पोखरेललाई हाजिर नगराउने जानकारी सहितको पत्र बुझाएका हुन् ।

उपमहानगरपालिकाका उपप्रमुख भोला प्रसाद अधिकारीसहित केही एमाले वडाध्यक्षहरूले बिहीबार सामान्य प्रशासन मन्त्रालय पुगेर काफ्लेको सरुवा र नयाँ प्रमुख प्रशासकीय अधिकृतको रूपमा पोखरेललाई ल्याउने निर्णय गराएका थिए । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीका रूपमा एमाले सांसद राज कुमार गुप्ताले पद वहाली गरे लगत्तै प्रमुख प्रशासकीय अधिकृत फेर्ने प्रपञ्च भएको थियो ।

मन्त्रालयको नेतृत्व परिवर्तन भएसँगै आफू नेकपा माओवादीबाट निर्वाचित नगर प्रमुख भएकै कारण राजनीतिक प्रतिशोध साध्नका लागि कानुन मिचेर प्रमुख प्रशासकीय अधिकृतको सरुवा गरिएको पौडेलको आरोप छ । काफ्लेको यही साउन ३ गते सरुवा गरिएको थियो । उनलाई सामान्य प्रशासन मन्त्रालयमा सरुवा गरिएको हो ।

उपसचिव काफ्लेले वैशाख २८ मा जीतपुरसिमरा उपमहानगरको प्रमुख प्रशासकीय अधिकृतको रूपमा जिम्मेवारी सम्हालेकी थिइन् । जिम्मेवारी सम्हालेको साडे दुई महिना नपुग्दै उनको सरुवा भएको हो ।
काफ्लेको ठाउँमा मन्त्रालयले उपसचिव चेत कुमार पोखरेललाई खटाएको छ । उनलाई पनि साउन ३ मा नै खटाइएको हो ।

जनप्रतिनिधिको विवादमा कर्मचारी
जीतपुरसिमरा उपमहानगरपालिकामा माओवादीबाट नगर प्रमुखमा पौडेल निर्वाचित भएपनि दुई तिहाइ जनप्रतिनिधि एमालेका छन् ।
आफू अनुकूल काम नगरेको, असार १० गते नगर सभाबाट नीति तथा कार्यक्रम र बजेट पास गराउन नगर प्रमुख पौडेललाई सहयोग गरेको भन्दै एमालेका जनप्रतिनिधिहरू काफ्लेप्रति रुष्ट छन् । एमालेबाट निर्वाचित केही जनप्रतिनिधिहरूले काफ्ले विरुद्ध उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगन्जमा मुद्दा हालेका छन् । उक्त मुद्दा विचाराधीन अवस्थामा रहेको छ । मुद्दा विचाराधीन अवस्थामा रहेकोले सरुवा गर्न मिल्ने अवस्था नरहेको नगर प्रमुख पौडेलले बुझाएको पत्रमा उल्लेख छ ।

प्रमुख प्रशासकीय अधिकृत काफ्लेको सरुवाको विषय उपमहानगरपालिकाले सम्पन्न गरेको नगर सभासँग पनि जोडिएको छ । जीतपुरसिमरामा एमालेबाट निर्वाचित केही जनप्रतिनिधिहरुले आफ्नो स्वार्थको लागि नगरसभा हुन रोकिरहेको अवस्थामा नगरसभा सम्पन्न गराउन काफ्लेले सदस्य–सचिवको रूपमा भूमिका खेलेकी थिइन् । सोही विषय मन नपराएका जनप्रतिनिधिहरु अदालत पुगेका थिए ।
मुद्दा खेप्दै गरेका पोखरेल एमालेको रोजाईमा
एमालेले प्रमुख प्रशासकीय अधिकृतका रूपमा ल्याउन खोजेका उपसचिव चेत कुमार पोखरेल यसअघि जीतपुरसिमरामै काम गरेका कर्मचारी हुन् । उनले २७ महिना जीतपुरसिमरामा प्रशासकीय प्रमुख अधिकृतको रूपमा काम गरेका थिए ।
सो समयमा उपमहानगरको सरकारी नम्बरको टिपर प्रयोग गरेर टाँगियावस्तीबाट सालको चोरी तस्करीको चिरान काठ आफ्नो निजी घर बनाउन ल्याउँदै गरेको अवस्थामा बाराको पिलुवामा प्रहरीले नियन्त्रणमा लिएको थियो । वन पैदावार ओसारपसार मुद्दामा पोखरेल विरुद्ध २०७८ जेठ २० गते पक्राउ पुर्जी जारी भएको थियो । फरार रहेका पोखरेल पछि अदालतमा उपस्थित भएर धरौटीमा छुटेका थिए ।
उनी विरुद्धको मुद्दाको अन्तिम फैसला भइसकेको छैन । पोखरेलविरुद्ध डिभिजन वन कार्यालय बारामा मुद्दा विचाराधीन अवस्थामा छ ।

कानुनी शासनको धज्जी उडाउँदै मन्त्रालय
कर्मचारी सरुवामा व्यापक विवाद र अनियमितताको आरोप खेप्दै आइरहेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पछिल्लो पटक फेरी विवादित सरुवा गरेको छ । सचिव स्तरको निर्णयबाट जीतिपुरसिमरामा प्रमुख प्रशासकीय अधिकृतको सरुवा भएको हो ।
सरुवामा मन्त्रालयले कानुन उल्लङ्घन मात्रै गरेको छैन गत असार २५ मा मन्त्रालयले जारी गरेको कर्मचारीको सरुवा, काज तथा कामकाज सम्बन्धी मापदण्ड, २०८१ को पनि बेवास्ता गरेको छ । स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृतहरूको सरुवा नीतिलाई मन्त्रालयले तिलाञ्जली दिएको छ ।

असार ६ गतेको सचिव स्तर बैठकबाट मापदण्डको मस्यौदा पेस नभएसम्मका लागि सरुवा स्थगित गर्ने भन्ने रहेको र मस्यौदा तयार भएपछि मस्यौदा अनुसार सरुवा गरिएको मन्त्रालयले जनाएको छ ।
सरुवा विवादित भएपछि मन्त्रालयले उपसचिव उर्मिला काफ्लेलाई आइतबार मन्त्रालयमा हाजिर हुन भनेको छ । काफ्लेले काम गर्न नसकेको गुनासो आएपछि उनको सरुवा गरिएको मन्त्रालयका कर्मचारी प्रशासन महाशाखा प्रमुख सहसचिव विष्णु ज्ञवालीले जानकारी दिए ।
त्यसो त प्रशासन डटकमसँगको कुराकानीमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले कर्मचारी सरुवामा थिति बसाल्ने बताएका थिए । तर, थिति बसाल्नु अघि नै मन्त्रालयको बेथिति बाहिरिएको छ ।