काठमाडौँ । कर्मचारी सञ्चय कोषले सञ्चय कोष तथा निवृत्तभरण कोष रकममा प्रदान गर्ने र सञ्चयकर्ता सापटीमा लिने ब्याजदरमा परिवर्तन गरेको छ ।
कोषले २०८१ साउन १ गतेदेखि लागू हुने गरी ब्याजदरमा परिवर्तन गरेको हो । सञ्चय कोष रकम र निवृत्तभरण कोष रकममा दिने ब्याजदर पाँच दशमलव पाँच शून्य प्रतिशत र विशेष सापटीको ब्याजदर छ दशमलव छ शून्य प्रतिशत कायम भएको छ ।
यस्तै, धितोमा आधारित घर सापटी, शैक्षिक सापटी र घर मर्मत सापटीको ब्याजदर घटाई सात दशमलव पाँच शून्य प्रतिशत कायम गरेको छ भने जग्गा खरिद सापटी र सरल सापटीमा आठ प्रतिशत व्याज रकम लिने निर्णय गरेको छ । यो ब्याजदर पुराना र नयाँ दुवै ऋणीलाई लागू हुनेछ ।
कोषले विशेष सापटी बाहेकका धितोमा आधारित सापटीको व्याज नियमित रूपमा चुक्ता गर्ने सञ्चयकर्ताको हकमा शून्य दशमलव दुई पाँच प्रतिशत बिन्दुले छुट दिने निर्णयसमेत गरेको छ । कोषले आर्थिक वर्ष २०८०/८१ को सञ्चयकर्ता र योगदानकर्ताको व्यक्तिगत खाता २०८१ साल असार मसान्तमा तयार हुने र यसरी व्यक्तिगत खाता तयार गर्ने कार्य असार मसान्तको कार्यालय समयपछि सुरु हुने भएकोले २०८१ साउन १ गते सञ्चयकर्तालाई प्रवाह गरिने सेवा बन्द हुने समेत जनाएको छ ।
कोषले काठमाडौँ उपत्यका तथा सातै प्रदेशमा रहेका शाखा कार्यालय र सेवा केन्द्रमार्फत सञ्चयकर्तालाई सहुलियत दरमा विशेष सापटी, घर सापटी, शैक्षिक सापटी, सरल सापटी, घर मर्मत सापटी र जग्गा खरिद सापटी प्रदान गरिरहेको छ । कोषले सञ्चयकर्ताको खातामा जम्मा भएको रकमको सुरक्षणमा ९० प्रतिशतसम्म रकम विशेष सापटीको रूपमा प्रदान गर्दै आइरहेको छ भने घर निर्माण गर्न र घर तथा जग्गा खरिदको लागि एक करोडसम्मको सापटी रकम प्रदान गर्ने गरेको छ ।
सञ्चयकर्ता स्वयं वा पति/पत्नी वा छोरा/छोरीलाई उच्च शिक्षा अध्ययन गराउने प्रयोजनको लागि ४० लाख रुपैयाँसम्म प्रदान गर्ने गरेको छ । सरल सापटी स्वरूप ४० लाख रुपैयाँसम्म र घर मर्मत गर्न ३० लाख रुपैयाँसम्म प्रदान गर्ने गर्दछ ।
हाल कोषमा निजामती, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी, सार्वजनिक संस्थान र संगठित क्षेत्र एवं सामुदायिक तथा संस्थागत विद्यालयतर्फका गरी ६ लाख ४५ हजार सञ्चयकर्ता तथा योगदानकर्ताहरू आबद्ध रहेका छन् ।