काठमाडौँ । शपथको लिने समय केही मिनेट मात्रै बाँकी हुँदा पनि नेपाली काँग्रेसले मन्त्री बन्नेहरूको नाम टुङ्गो लगाउन सकेको छैन । काँग्रेस सभापति शेरबहादुर देउवाले सरकारमा पठाउने गरी ९ मन्त्री छान्न बिहानैदेखि परामर्श थाले पनि आन्तरिक भागबन्डा नमिल्दा सकस परेको छ ।
सोमबार बिहान प्रधानमन्त्री ओलीसँगै दुई ठुला सत्ता साझेदार दल काँग्रेस र एमालेबाट सरकारमा जाने सबै मन्त्रीहरूको एकै चोटि शपथ खुवाउने तयारी गरिए पनि संस्थापनइतर पक्षको मागका कारण सभापति देउवालाई सूची टुङ्ग्याउनै हम्मे हम्मे परेको हो ।
शेखर कोइराला र गगन थापा नेतृत्वको इतर समूहले काँग्रेसले १० मन्त्रालय पाउँदा ५ र ९ मन्त्रालय पाउँदा कम्तीमा ४ वटा मन्त्रालय आफूहरूले पाउनुपर्ने दाबी गरेको थियो तर सभापति देउवाले कोइरालालाई फोन गरी तीन मन्त्री र एक राज्यमन्त्रीको नाम पठाउन भनेसँगै चार वटै नपाएसम्म नपठाउने जवाफ पछि अफ्ठेरो अवस्था सिर्जना भएको एक नेताले प्रशासनलाई बताए । अहिले दुवै समूह छलफलमा जुटिरहेको पनि ती स्रोतको भनाई छ ।