काठमाडौँ । बागमती प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुनमन्त्री गङ्गानारायण श्रेष्ठले राजनीतिक स्थायित्वको नाममा प्रतिगमन स्वीकार्य नहुने बताएका छन् ।
बिहीबार सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिन्टारमा सञ्चालित सि.सं. ५ गोताखोर तालिमको समापन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो चेतावनी दिएका हुन् ।
उनले राजनीतिक स्थायित्वको नाममा प्रतिगमन स्वीकार्य नहुने भन्दै दीर्घकालीन राजनीतिक स्थायित्वका लागि मुख्य गरी तीन कुरामा संविधान संशोधन गर्नुपर्ने बताए ।
उनले विद्यमान मिश्रित निर्वाचन प्रणालीको ठाउँमा प्रत्यक्ष प्रतिस्पर्धासहितको पूर्ण समानुपातिक निर्वाचन प्रणाली बनाउनु पर्ने बताए । त्यस्तै, वर्तमान शासकीय स्वरूप परिवर्तन गरी प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय प्रणाली बनाउनुपर्ने उनको भनाई छ । मन्त्री श्रेष्ठले पहिचानको ५ र सामर्थ्यको ४ आधारमा राज्य पुनर्संरचना गर्नुपर्ने पनि बताए ।
मन्त्री श्रेष्ठले सशस्त्र प्रहरी बलले गोताखोरजस्तो सामान्य मानिसले गर्न नसक्ने जोखिमपूर्ण तालिम र तालिमबाट सिकेको ज्ञानलाई व्यवहारमा प्रयोग गरेर विपद्मा परेका मान्छेको जीवन बचाउने काम गरेको भन्दै प्रशंसा गरे । उनले आगामी दिनमा प्रदेश सरकारले सशस्त्र प्रहरीलाई सहयोग जारी राख्ने बताए । उनले गोताखोर तालिम केवल व्यक्तिगत वृत्तिविकासका लागि मात्र नभई संगठन र जनताप्रतिको जिम्मेवारी र उत्तरदायित्व बहन गर्नु भएको बताए । उनले बाढी, पहिरो र डुवानका समस्याहरूमा आमजनतालाई सेवा प्रदान गर्नको निम्ति पूर्वतयारी र प्रतिकार्यका लागि तयारी अवस्थामा रहन निर्देशन दिए । उनले गोताखोर तालिममा सिकेका सिपको अधिकतम प्रयोग गर्न पनि जोड दिए ।