जुम्ला । जुम्लाको गुठिचौर गाउँपालिकाले चालु आर्थिक वर्ष २०८०/८१ को ११ महिनामा पुँजीगत खर्च ५१ दशमलव १६ प्रतिशत गरेको छ ।
पालिकाले सोही आबमा रु. ३४ करोड ५५ लाख ७५ हजार विनियोजित बजेटमध्ये हालसम्म चालुतर्फ ६५ दशमलव ४७ प्रतिशत खर्च गरेको छ ।
समग्रमा ६० दशमलव १४ प्रतिशत खर्च भएको गाउँपालिकाका अध्यक्ष दानबहादुर बुढाले जानकारी दिए । चालु आर्थिक वर्षको कूल विनियोजित बजेटको ८८ दशमलव ३२ प्रतिशत खर्चहुने अनुमान गरिएको छ । उनले भने– “उक्त आवमा गाउँपालिकाको आन्तरिक राजस्व रु. १६ लाख सङ्कलन गर्ने लक्ष्य रहेकामा रु. ११ लाख मात्र उठेको छ ।” आर्थिक वर्ष २०८१/८२ मा पालिकाले रु. १८ लाख आन्तरिक राजस्व सङ्कलन गर्ने लक्ष्य लिएको छ ।
महालेखापरीक्षकको कार्यालयले गत जेठ १३ गते सार्वजनिक गरेको ६१ औँ वार्षिक प्रतिवेदन अनुसार गुठिचौर गाउँपालिकाको लेखापरीक्षणबाट रु. पाँच करोड एक लाख ४४ हजार बेरुजु देखिएको छ ।