सचिव बैठकबाट नै निर्णय भई सकेको व्यवस्था सरकारी कार्यालयले नै लागू नगर्नुले कतै हाम्रो प्रणाली ‘चेन अफ कमाण्ड’ भन्दा बाहिर गई सकेको त छैन ? होइन भने किन अहिलेसम्म कार्यान्वयनमा आउन सकेन ?
काठमाडौँ । अब सरकारी चिठ्ठीपत्र र कागजात अनिवार्य रूपमा हुलाकमार्फत नै पठाउनु पर्ने भएको छ । यसका लागि गोश्वारा हुलाक कार्यालयले अनिवार्य रूपमा पठाइनुपर्ने पत्रहरू सरकारी सेवा नै प्रयोग गर्ने अभियान सुरु गरेको हो ।
धेरैजसो सरकारी कार्यालयले हुलाक सेवा प्रयोग गर्न छाडेपछि २०८० असोज १ गते बसेको सचिव स्तरीय बैठकले सरकारी चिठ्ठीपत्र र कागजात हुलाकमार्फत पठाउने व्यवस्था सुनिश्चित गर्ने निर्णय गरेको थियो । “सरकारी चिठ्ठिपत्र र कागजात हुलाकमार्फत पठाउने व्यवस्था सुनिश्चित गर्ने तथा विभिन्न मन्त्रालय, निकाय, कार्यालयले आ-आफ्नो प्रशासन महाशाखा, शाखालाई हुलाक सेवाको प्रयोग गर्ने निर्देशन दिने” बैठकले निर्णय गरेको थियो । सम्पूर्ण हुलाक कार्यालयमा पत्राचार भए पनि अधिकांश सरकारी निकायले अहिलेसम्म पनि हुलाक सेवालाई प्रयोग नगरेको पाइएपछि गोश्वारा हुलाक कार्यालयले सरकारी हुलाक बस्तु चिठ्ठीपत्र हुलाकलाई भन्ने अभियान चलाएको हो ।
पछिल्लो समयमा सरकारी कार्यालयहरूले नै चिठ्ठीपत्रसहित विभिन्न हुलाक सम्बद्ध सेवाहरू निजी स्तरका कुरियर र कार्गो कम्पनीबाट लिन थालेसँगै हुलाक सेवाको प्रयोग घट्दै गएको हो । सरकारको महत्त्वपूर्ण निर्णयलाई कार्यान्वयन गर्न अधिकृत कर्मचारीको नेतृत्वमा सबै मन्त्रालय, विभागमा जाने एवं सम्बन्धित निकायका कर्मचारीसँग छलफल गरी हुलाक बस्तु हुलाकलाई दिन आग्रह गर्ने अभियान सुरु गरिएको गोश्वारा हुलाक कार्यालय डिल्लीबजारका प्रमुख हुलाक अधिकृत वासुदेव रेग्मीले प्रशासनलाई बताए ।
उनका अनुसार हालसम्म गोश्वारा हुलाक कार्यालयसँग ५७ बटा मन्त्रालय, विभाग तथा निकायहरूसँग दोहोरो सम्झौता भएको छ । सम्बन्धित कार्यालय, ठेगानामा नै पुगेर चिठ्ठीपत्र एवं सम्पूर्ण हुलाक बस्तु ओसार–पसार गर्ने कार्य सञ्चालन भइरहेको छ । गोश्वारा हुलाक कार्यालयले ३ वटा घुम्ती गाडीहरू एवं हुलाकी हल्काराहरु सञ्चालन गरी काठमाडौँ महानगर भित्र तत्काल सेवा तथा अन्य उपत्यका भित्र घुम्ती सेवा समेत प्रवाह गर्दै आएको रेग्मीले बताए । अहिले सिंहदरवारभित्रबाटै सेवा दिँदै आइरहेको र उक्त कार्यालयले १० मिनेटमै सिंहदरबारभित्रका विभिन्न कार्यालयमा सेवा दिइसक्ने बताइएको छ ।
यसैगरी देशभर नै हुलाक सेवालाई राम्रो बनाउने उद्देश्यले यातायातको सुविधा भएको ठाउँमा करिब एक हप्ताभित्रमा चिठ्ठीपत्र र कागजात पठाउने गरिएको प्रमुख हुलाक अधिकृत रेग्मीले जानकारी दिए । यस्तै, उनले नेपाल सरकारको अत्यावश्यक सेवाको रूपमा रहेको हुलाक सेवालाई चुस्त-दुरुस्त बनाई प्रभावकारी सेवा प्रवाह गर्न गोश्वारा हुलाक कार्यालय सधैँ प्रतिबद्ध रहेको बताए ।
हुलाक सेवाले स्थापना काल देखिनै दैनिक रूपमा विभिन्न सरकारी कार्यालय, गैरसरकारी संस्था तथा व्यक्तिगत रूपमा प्राप्त भएका आन्तरिक तथा वैदेशिक हुलाक बस्तु प्रापकले उल्लेखित गरेको ठेगानासम्म ल्याउने-पुर्याउने कार्य गर्दै आइरहेको छ ।
पछिल्लो समयमा सरकारी कार्यालयहरूले चिठ्ठीपत्रसहित विभिन्न हुलाक सम्बद्ध सेवा पनि निजी स्तरका कुरियर र कार्गो कम्पनीबाट लिइरहेका छन् । यसले गर्दा हुलाक सेवामा आकर्षण कम हुँदै गएको छ भने सरकारको खर्च पनि बढेको छ ।
अहिले धेरैजसो सरकारी पत्र तथा परिपत्र इमेल र अनलाइन प्रविधिमार्फत नै कार्यालयहरूमा पुग्ने गरेका छन् । तर, कतिपय पत्र तथा फाइलहरू अभिलेखका लागि प्रमाणित रूपमा नै कार्यालयहरूमा पठाउनुपर्छ। अत्यावश्यक सेवाको सूचीमा रहेको र युद्धको समयमा सेनाले समेत अवरोध गर्न नपाउने जस्ता विशेषता भएको हुलाक सेवालाई सरकारका लागि महत्त्वपूर्ण सेवा मानिन्छ ।
तर हुलाकमार्फत अहिले पनि विभिन्न कागजपत्र पठाउने क्रम ठप्प भने भइसकेको छैन । बैंकहरुले आर्थिक वर्षको मसान्तमा पठाउने पत्र, अदालतका मिसिल र प्रतिउत्तर पत्र, विभिन्न कार्यालयले अर्को कार्यालयलाई पठाउने पत्रहरू पनि हुलाकबाट बढी जान्छन् ।
तर यससँगै हुलाकलाई प्रतिस्पर्धी बनाउन भने आवश्यक छ । कर्मचारीको बानी व्यवहारमा सुधारसँगै सेवामा चुस्तता ल्याउन सके प्रतिस्पर्धात्मक बजारमा आफ्नो उपस्थितिलाई गर्विलो बनाउन सक्नेछ ।
२०७८ वैशाख ८ गते बसेको तत्कालीन मुख्यसचिव शंकरदास वैरागीले उच्च व्यवस्थापन समूहको बैठकमा सिंहदरवार परिसरभित्रका एक निकायले अर्को निकायलाई पत्राचार गर्दा चिठ्ठी पत्र हस्ताक्षर भएकै दिन पुर्याउने व्यवस्था गर्न निर्देशन दिएका थिए । सिंहदरवारभित्रै महिनौँसम्म पत्र नपुग्ने गुनासोसँगै यस्तो निर्देशन दिइएको थियो ।
सम्बन्धित समाचार : सिंहदरवार परिसर भित्र चिठ्ठीपत्र हस्ताक्षर गरेकै दिनमा पुग्नुपर्ने