सिंहदरवार परिसर भित्र चिठ्ठीपत्र हस्ताक्षर गरेकै दिनमा पुग्नुपर्ने « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

सिंहदरवार परिसर भित्र चिठ्ठीपत्र हस्ताक्षर गरेकै दिनमा पुग्नुपर्ने


९ बैशाख २०७८, बिहिबार


काठमाडौँ । मुख्य सचिव शंकरदास बैरागीले सिंहदरवार परिसरभित्रका एक निकायले अर्को निकायलाई पत्राचार गर्दा चिठ्ठीपत्र हस्ताक्षर भएकै दिन पुर्‍याउने व्यवस्था गर्न निर्देशन दिएका छन् ।

बुधवार सिँहदरवारमा बसेको विस्तारित उच्च व्यवस्थापन समूहको बैठकलाई सम्बोधन गर्ने क्रममा मुख्य सचिव वैरागीले सो निर्देशन दिएका हुन् । बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र अन्तर्गतका निकायहरू नेपाल ट्रष्टको कार्यालय, राष्ट्रिय योजना आयोग, लगानी बोर्ड, राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, सार्वजनिक खरिद अनुगमन कार्यालय, सम्पत्ति शुद्धीकरण विभाग, राजश्व अनुसन्धान विभागलगायत निकायका प्रमुखहरू उपस्थित थिए ।

‘सिंहदरवार परिसरभित्रका मन्त्रालय/निकायले एक अर्को निकायमा पत्राचार गर्दा चिठ्ठीपत्र हस्ताक्षर भएकै दिनमा वा कार्यालय खुलेको बढीमा १२ घण्टाभित्र सम्बन्धित निकायमा अनिवार्य पुग्नुपर्छ’ मुख्य सचिव वैरागीले भने ।

साथै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय वा अन्तर्गतका निकायले एक अर्को निकायमा पत्राचार गर्दा समयमै पुगे नपुगेको सम्बन्धमा राष्ट्रिय सतर्कता केन्द्रले नियमित र छड्के अनुगमन गर्नसमेत मुख्य सचिवको निर्देशन छ ।

सरकारी कामकारबाही ढिलासुस्ती भएको व्यापक गुनासोपछि राष्ट्रिय सतर्कता केन्द्रले गरेको एक सर्वेक्षणका क्रममा सरकारी चिठ्ठीपत्र पुग्न महिनौँ लाग्ने गरेको फेला परेको थियो । सिँहदरवारभित्रकै एक निकायबाट अर्को निकायमा पत्र पुग्न महिनौँ लाग्ने गरेको अवस्था फेला परेपछि मुख्य सचिव वैरागीले सचिव बैठकमै यो परम्पराको तत्काल अन्त्य गर्न भनेका थिए ।

बैठकले स्वचालित कार्यालय व्यवस्थापन प्रणाली(अफिस अटोमेसन सिस्टम)लाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने, स्वचालित कार्यालय व्यवस्थापन प्रणालीको प्रयोगकर्ता पुस्तिकालाई यथाशीघ्र अन्तिम रूप दिई कार्यान्वयनमा ल्याई सेवा प्रवाहमा सुधार गर्ने विषयमा निर्णय भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रवक्ता किरणराज शर्माका अनुसार निजामती सेवा ऐन, नियमावली, नियम र अन्य प्रचलित ऐनअनुरूप दैनिक कार्यसम्पादन प्रतिवेदन फाराम र नतिजामूलक कार्य संस्कृति र दैनिक प्रतिवेदन प्रणालीलाई व्यवस्थित गर्ने र नेपाल ट्रष्टको कार्यालयबाट सुधारका क्षेत्र पहिचानको प्रस्तुतिमा प्राप्त सुझावलाई समेटी कार्य योजनासहितको प्रतिवेदन पेश गर्ने निर्णय बैठकले गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले पूर्वाधार क्षेत्रलगायतका सबै क्षेत्रमा सुधार गर्न नियमित छलफल गरिरहेको र नीतिगत व्यवस्थालाई कार्यान्वयन गर्न सबै निकायसँग छलफल गरी कार्यान्वयनयोग्य बनाउन प्रयास गरिरहेको प्रवक्ता शर्माले प्रशासनलाई बताए ।

प्रवक्ता शर्माका अनुसार मुख्य सचिव वैरागीले नीति तथा कार्यक्रममा नीति प्रतिष्ठान र अन्य सरोकारवाला निकायसँग घनिभूत छलफल गरी क्रस कटिङ इस्यू सम्बोधन गर्न निरन्तर छलफल गरिरहेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस