काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नयाँ गठबन्धनको सरकार बन्ने प्रक्रिया सुरु हुने बित्तिकै सरकारबाट बाहिरिने निर्णय गरेको छ ।
आजको बसेको रास्वपाको बैठकले वर्तमान गठबन्धनमा सहभागिता नजनाउने प्रमुख सचेतक सन्तोष परियारले बताए । पार्टीको आकस्मिक बैठकपछि सञ्चारमाध्यमलाई प्रतिक्रिया दिँदै उनले अहिलेको राजनीतिक घटनाक्रमले देशलाई स्थायित्व नदिने बताए ।
उनले भने, ‘अब बन्ने गठबन्धनमा हामी रहँदैनौँ । हामी सरकारमा जाँदैनौँ, त्यो एकदम स्पष्ट नै छ । बाँकी के गर्ने भन्ने कुरा अहिलेको राजनीतिक प्रक्रिया अघि बढिनसकेको हुँदा सरकार परिवर्तन हुने प्रक्रियापछि हामी स्वाभाविक रूपमा बाहिर निस्कन्छौँ ।’
परियारले थपे, ‘राष्ट्रिय स्वतन्त्र पार्टी के कुरामा स्पष्ट छ भने अर्को सरकार बन्ने प्रक्रिया सुरु हुने बित्तिकै हामी हाम्रा मन्त्रीहरूलाई फिर्ता बोलाउँछौँ । हामी बहिर्गमित हुन्छौँ ।’







